+
+

माओवादीमा पाको पुस्ताको सरकारमै ध्यान, युवाको चाहना प्रतिपक्ष

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर २२ गते १९:४४

२२ मंसिर, काठमाडौं । चुनावी नतिजाको प्रारम्भिक समीक्षा गर्न बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा अब नेपाली कांग्रेस वा नेकपा (एमाले)मध्ये कोसँग मिलेर सरकारमा जाने भन्ने बिषयले प्राथमिकता पायो । निराशापूर्ण चुनावी नतिजाको समीक्षा भने ओझेलमा पर्‍यो ।

प्रत्यक्षतर्फ निराशाजनक र समानुपातिकमा पनि खस्कदो अवस्थाबारे बैठकमा सघन छलफल हुने ठानिएकोमा पाका नेताहरुले सत्तामै बढ्ता मोह देखाएपछि युवा पुस्ता आफ्नो भविष्य सम्झेर चिन्तित छन् ।

२१ सदस्यीय माओवादी पदाधिकारीमा अधिकांश पहिलो र दोस्रो पुस्ताका नेता छन् । उनीहरुमध्ये प्रायः सबै सरकारमा जान उत्सुक छन् । युवा पंक्तिका धेरैजसो नेता भने यसपटक सरकार बाहिरै बसेर पार्टी निर्माणमा लाग्नुपर्ने आवाज उठाइरहेका छन् ।

सत्ता गठबन्धनबाट चुनाव लडेको माओवादीले प्रत्यक्षतर्फ जम्मा १८ सिटमा जितेको छ । समानुपातिकमा पनि १४ सिट मात्र पाएको छ । यसरी कुल ३२ सिटमा सिमित बनाएको चुनावी नतिजाले पनि माओवादी पार्टीलाई सरकारमा जान नदिने युवा नेताहरुको तर्क छ ।

युवा पुस्ताको जोड प्रतिपक्षमा

माओवादी केन्द्रभित्रको विशेषतः सरकारी पदको लाभ नलिएका युवा नेताहरु चुनावी नतिजाले सत्तामा जाने अनुमति नदिएको विचार राखिरहेका छन् ।

यस्तो धारणा राख्नेमध्येका एक लेखनाथ न्यौपाने केही थान नेतालाई मन्त्री बनाउन र केहीलाई राजनीतिक नियुक्ति दिलाउन सरकारमा जान नहुने बताउँछन् ।

‘माओवादी आन्दोलन यत्ति लाभका लागि मात्र उठेकै होइन’, उनी भन्छन्, ‘फेरि पनि सरकारप्रति नै मोह देखाए आगामी चुनावमा माओवादीको हालत योभन्दा खराब हुने पक्का छ ।’

पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि यसपालि प्रतिपक्षमै बस्नुपर्ने मत राख्छन् ।

‘पहिलो र दोस्रोको हैसियतमा आएका कांग्रेस र एमाले नेतृत्वले विश्वासको मत लेओस् र सरकार बनाओस्,’ उनले भने, ‘उनीहरुले नबनाए हाम्रो नेतृत्वमा सरकार बनाऔं । नत्र प्रमुख प्रतिपक्षी भएर बसौं ।’

पार्टी नेतृत्वले प्रधानमन्त्री पदतिर आँखा लगाइरहेका बेला माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष रहिसकेका केन्द्रीय सदस्य रन्जित तामाङ पनि सरकारमा जान उपयुक्त नहुने बताउँछन् ।

चुनावी परिणामलाई असाध्यै गम्भीर शिक्षाका रुपमा लिनुपर्ने बताउँदै उनी भन्छन्, ‘यसलाई सुधारको अन्तिम अवसर ठानेर हालको कार्यशैली बदल्नुपर्छ ।’

त्यसका लागि सरकार बाहिरै रहेर पार्टी निर्माणमा लाग्नुपर्ने उनको मत छ । सरकारमा गएर राम्रो परिणाम दिन नसकिएको बताउँदै तामाङले भने, ‘गठबन्धन सरकार बन्छ भने समर्थन दिउँ, तर हामी बाहिरै बसेर पार्टी निर्माणमा लाग्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य डिपी ढकाल लामो समय सरकारमा बसेर पनि पार्टीले ‘डेलिभरी’ दिन नसकेकोले कमजोर जनसमर्थनको भरमा फेरि सरकारमा जान नहुने बताउँछन् ।

‘पार्टी सरकारमा गइरहने अनि डेलिभरी नदिएर जनमत घटिरहने भयो’, उनी भन्छन्, ‘अहिलेसम्म सरकारमा गएर के–के गरियो, अब किन जाने भन्ने विषयमा गम्भिर छलफल हुन जरुरी छ ।’

रामेछापबाट प्रदेश सांसद निर्वाचित केन्द्रीय सदस्य युवराज चौलागाईँ सरकारमा गएर पार्टी निर्माणमा सहयोग नपुगेको बताउँछन् । ‘सरकार र पार्टीको कामबीच तालमेल मिलाउन सकिएन’, उनी भन्छन्, ‘अब सरकारमा किन जाने ? यसबारे पार्टी नेतृत्वले सोच्नुपर्छ ।’
अर्का केन्द्रीय सदस्य रामदीप आचार्य पार्टीको विचार, संगठन, कार्यशैलीबारे बहस गर्दा सरकारमा सहभागिताको विषय पनि उठ्ने बताउँछन् ।

‘हामीले पाँच वर्ष सुदूरपश्चिम सरकार चलायौं, तर त्यही क्षेत्रमा संघतर्फ पार्टी शून्य भयो,’ उनले भने, ‘हामीले कस्तो सरकार चलाएका रहेछौं त ?’

सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, सरल पौडेल (सहयात्री) लगायत नेता पनि सरकारमा गए पार्टीको जनमत झन् खराब हुने मत राख्छन् ।

छलफलमा युवा नेता

पछिल्लो चुनावी परिणामले आफ्नो राजनीतिक भविष्यलाई लिएर चिन्तित माओवादीका युवा नेताहरु छलफलमा समेत जुटेका छन् ।

बिहीबार रत्नराज्य क्याम्पसमा केन्द्रीय सदस्यहरु– लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायत युवा नेताहरु औपचारिक छलफलमा सहभागी भए ।

अरु पार्टी भन्दा माओवादी किन भिन्न हुन सकेन भन्ने चिन्ताले आफूहरु छलफलमा जुटेको हिमाल शर्माले बताए । ‘पार्टी बनाउन सम्भव छ तर संगठनात्मक, सरकार संचालन र विचार निर्माणको परिपार्टी बदल्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भने ।

छलफलमा जनवर्गीय संगठनका तर्फबाट जनसांस्कृतिक महासंघका अध्यक्ष, दलित मुक्तिमोर्चाका अध्यक्ष, किसान महासंघका महासचिव र वाईसीएल उपाध्यक्ष पनि सहभागि थिए ।

छलफलबाट आएका सुुझाव पार्टी नेतृत्वलाई बुझाउने वाईसीएलका इन्चार्ज दीपशिखाले बताए ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?