 
																			२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ । कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्याउने भएकाले यसतर्फ ध्यान दिन म सबैलाई आग्रह गर्न चाहन्छु ।’
साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनलाई विशेष महत्व दिंदै आएको बताएका छन् । ‘यसप्रति सरकारको प्रतिबद्धता अविचलित रहेको छ,’ उनले भनेका छन्, ‘विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्दै भ्रष्टाचार हुनै नदिनेतर्फ सरकारको अठोट छ ।’ उनले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै सरकारी निकाय, बुद्धिजीवी, नागरिक समाज र सञ्चारकर्मीहरुलाई आगामी दिनमा आपसी समन्वय, सहकार्य र साझेदारीमा भ्रष्टाचार नियन्त्रण अभियान अघि बढाउन आह्वानसमेत गरेका छन् ।
भ्रष्टाचार बहुआयामिक र जटिल विषय : प्रमुख आयुक्त राई
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पनि शुभकामना सन्देश दिंदै भ्रष्टार रोकथामका लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रका निकाय एवं पदाधिकारीका साथै सबै नागरिकको निरन्तर सहयोग जरुरत पर्ने बताएका छन् । भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेको भन्दै उनले यसको रोकथामका लागि सबैको सहयोगको अपेक्षा गरेका हुन् ।
‘मुलुकको सर्वाङ्गीण विकासका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको छवि प्रवर्द्धन गर्न उपयुक्त सबै क्षेत्रबाट निरन्तर साथ, समर्थन, समन्वय र सहयोग प्राप्त गर्न जरुरी छ,’ प्रमुख आयुक्त राईले भनेका छन्, ‘त्यसो हुन सकेमा मात्र भ्रष्टाचारसँग सम्बन्धित विभिन्न सूचक एवं परिसूचकमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ ।’
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसले अख्तियारलाई थप ऊर्जावान र क्रियाशील बनी भ्रष्टाचार विरुद्ध सक्रिय रहन प्रेरणा दिएको पनि उनले उल्लेख गरेका छन् ।
उनले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रुपान्तरण गर्न आयोगले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4