+
+

विश्वकप २००६ : जिदान र रोनाल्डोको बिदाइ, इटलीलाई चौथो उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते ११:२३

२४ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकालाई थोरै मतले पछि पार्दै जर्मनीले एकीकरणपछि पहिलोपल्ट विश्वकप आयोजनाको अधिकार पायो । यो प्रक्रियामा जर्मन फुटबल संघले फिफा सदस्यसँग मत अरिद गरेको आरोप लागेको थियो ।

यो कामको नेतृत्व जर्मनीका लिजेण्ड तथा जर्मन फुटबल संघका प्रतिनिधि फ्रान्ज बेकनबाउरले गरेका थिए । यो प्रकरणको अनुसन्धान २०१६ मा सुरु भएको थियो । तर, कुनै निष्कर्षमा पुग्नुअघि नै २०२१ मा बन्द गरियो । सन् २०१८ मा फिफाले आफ्ना केहि नियम परिवर्तन गरेपछि यो प्रकरणको अनुसन्धान आवश्यक रहेन ।

कोस्टारिकाविरुद्धको आफ्नो पहिलो खेलमा फिलिप लाहमले पाँचौं मिनेटमै गोल गरेपछि आयोजक जर्मनीले विश्वकपमा सुखद सुरुवात गरेको थियो । जर्मनीले समूहमा बाँकी दुई खेल पनि जित्यो । अन्तिम १६ मा स्वीडेनलाई पनि हरायो । सेमिफाइनलमा उसले इटलीसँग हार बेहोरेको हो ।

साविक विजेता ब्राजिलले पनि समूह चरणमा यस्तै नतिजा निकालेको थियो । ३ खेल जित्दा ७ गोल गरेको थियो । अन्तिम १६ मा घानालाई हराएको ब्राजिलले क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भयो । यो खेलको नतिजा फ्रान्सका थिएरी हेनरीले निकै चुस्त रुपमा लिएको फ्रिकबाट भएको थियो । जतिबेला ब्राजिलका स्टार रोवर्टो कार्लोस आफ्नो जुत्ताको तना बाँध्न ब्यस्त थिए ।

विश्वकपको फाइनलमा फ्रान्स र इटली पहिलोपल्ट भेट भयो । आठ वर्षअघि विश्वकप जित्दाका नायक जिनेदिन जिदानले सातौं मिनेटमै पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, १९औं मिनेटमा मार्को मेटेराज्जीले हेडमार्फत गोल गरी खेल बराबरीमा ल्याए ।

खेल अतिरिक्त समयमा पुग्यो । अन्त्यतिर विश्वकप फाइनलकै एक विचित्र क्षणमा पुगेर रोकियो ।

जिदान र माटेरज्जीबीच विवाद भइरहेको थियो । सुरुमा माटेराज्जीले जर्सी तानेपछि विवाद सुरु भएको थियो । जिदानले माटेराज्जीको छातीमा टाउकोले प्रहार गरिदिए । फ्रान्सेली सुपरस्टारले तत्कालै रातो कार्ड पाए ।

पेनाल्टी शुटआउटमा इटलीका पाँचै जनाले गोल गरे र उनीहरुले चौथोपल्ट विश्वकपको उपाधि उचाले ।

टेलिभिजन इतिहासकै सबैभन्दा धेरै दर्शकले हेरेको यो विश्वकपले नयाँ कीर्तिमान बनायो । विश्वकपभन्दा केहि समयअघि छुटि्टएका पनि सर्विया र मोन्टेनेग्रोले एक टिमका रुपमा प्रतियोगिता खेले । यो विश्वकपमा अफ्रिकाबाट तीन नयाँ देश छनोट भएका थिए । तीमध्ये घानाले नकआउट चरणमा स्थान बनाएको थियो ।

यो विश्वकपमा तीन गोल गरेका ब्राजिली सुपरस्टार रोनाल्डोको यो अन्तिम विश्वकप थियो । वर्तमान विश्वका दुई सुपरस्टार लियोनल मेस्सी (अर्जेन्टिना) र क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)ले यही विश्वकपमा डेब्यू गरेका थिए ।

तथ्यांकमा विश्वकप २००६

आयोजक : जर्मनी

टिमः ३२

फर्म्याट : समूह चरण, नकआउट

खेल : ६४

गोल : १४७

विजेताः इटली

उपविजेता : फ्रान्स

गोल्डेन बुट : मिरोस्लाभ क्लोज (जर्मनी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?