+
+

अचार उत्पादनले फेरिए वासुकलाका दिन

रासस रासस
२०७९ मंसिर २५ गते ९:५०

२५ मङ्सिर, म्याङ्लुङ । सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार ।

विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो ।

जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई । तर यतिबेला उनको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बनेकी उनलाई यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ छ ।

हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी उनले घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छन्।

शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन । गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गर्ने गरेकी छन्।

पहिले अरुको काम गरेर जीवन धानेको बताउँदै उनका श्रीमान् सूर्यबहादुर विकले तर उमेर ढल्किंदै गएपछि र कमजोर भएपछि काम गर्न नसकेको बताए । तर, अहिले अचार उत्पादन गर्न थालेपछि सजिलो भएको उनको भनाइ ५ ।

‘तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौं,’ उनले भने, ‘सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।’

छोरा वैैदेशिक रोजगारमा छन् । श्रीमान्, बुहारी र उनी घरमा छन्। व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् ।

उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो एक हजारमा बिक्री गर्ने गरेकी छन्। परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छन् ।

मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उनले व्यवसाय गर्दै आएकी छन्। खासगरी उनको उद्योगमा अकबरेको अचार उत्पादन हुन्छ ।

अचार उद्योगमा साथ दिंदै आएका सूर्यबहादुर भन्छन्, ‘सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो । तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ । बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन ।’

अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन । ग्राहकले फोनमार्फत माग गर्दै आएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई । अहिले अचार पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात हुने गरेको छ।

अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन ।

विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिँदैनन् । आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोेजगार बन्न सकिन्छ भन्ने वासुकला उदाहरण बनेकी छन्।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?