+
+
पुस्तक चर्चा :

लोकतन्त्रको छद्म आडमा शक्तिराष्ट्रले कसरी इजिप्टलाई प्रयोग गरे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १३:२९

लोकतन्त्र स्थापना हुनुभन्दा अघिको इजिप्ट कस्तो थियो ? यसको गतिलो जवाफ हुनसक्छ प्रा. डा. पुष्प अधिकारीको पुस्तक, ‘इजिप्ट अनटिल डेमोक्रेसी’ ।

यो पुस्तकले अनादिकालदेखि समाजमा चलिआएको नैतिकता, आचरणजस्ता मौलिक गुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई पुस्तकले प्रष्ट पारेको छ ।

अझ भनौं मुख्य शक्तिराष्ट्रहरुका स्वार्थलाई चुनौती दिंदा अन्त्यमा देशले कतिसम्मको पीडा खप्नुपर्ने हुनसक्छ र त्यो पनि भूमण्डलीकरणको घुमाउरो चेपमा अप्रत्यक्ष रुपमा कसरी शक्तिराष्ट्रहरुले फसाउँदै लैजान्छन् भन्ने कुरा लेखकले प्रष्ट पारेका छन् ।

राष्ट्रपति गमालअब्देल नासेरले सुएज क्यानल (बाँध)लाई राष्ट्रियकरण गरेको बदला कसरी शक्तिराष्ट्रहरुले लिए र लोकतन्त्रको नाममा इजिप्टलाई पश्चिम एसियाको मुख्य शक्तिराष्ट्रबाट विकासोन्मुख राष्ट्रको हारमा खसाले भन्ने कुरा पुस्तकले विस्तृत रुपमा दिएको छ ।

पश्चिमा राष्ट्रको लहैलहैमा लाग्दा राष्ट्रपति अनवर–अल–सादात आफ्नै मुलुकको हितको बेवास्ता गर्न थाल्छन् र पश्चिमा हित पूरा हुन छोडेपछि अन्त्यमा उनको हत्या हुन्छ । सादातकै उपराष्ट्र्पति होस्नी मुबारक राष्ट्रपति बनेपछि पश्चिमा खासगरी अमेरिकाको आडमा ३० वर्ष शासन सम्हाल्छन् । जब उनको पनि उपयोगिता सकिएको भान अमेरिकालाई हुन्छ, कसरी लोकतान्त्रिक आन्दोलनको छद्म आडमा उनलाई पनि विस्थापित गरियो भन्ने कुरा प्रष्ट रुपमा पुस्तकमा पढ्न पाइन्छ ।

आफ्नो स्वार्थपूर्तिका लागि अमेरिकाले वर्षौंसम्म इजिप्टमा सहायताका नाममा अर्बौं डलर खन्याउँथ्यो, र अन्त्यमा त्यसमै इजिप्टको बानी परेपछि उक्त सहायतालाई मोलमोलाइको मुख्य औजार बनाएर इजिप्टको अर्थतन्त्र धरासायी पारिदियो । दोस्रो विश्वयुद्धपछि पश्चिम एसियामा विकसित आर्थिक तथा सैनिक शक्ति राष्ट्र इजिप्टसँग मितेरी गाँस्न तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर बारम्बार कायरो पुगिरहन्थे र अमेरिका अनबर–अल–सादातको दमनकारी शासनको पक्षमा नै रहने गरेको तथ्य पुस्तकमा पाइन्छ ।

लामो र गहिरो अनुसन्धान गरी तयार पारिएको ‘इजिप्ट अनटिल डेमोक्रेसी’  पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ । खासगरी लोकतन्त्रको अमेरिकी संस्करणमा डुबुल्की मार्न खोज्ने दक्षिण एसियाली राष्ट्र्का राजनीतिज्ञ, योजनाविद् तथा प्राज्ञिक वर्गले यो पुस्तक पढ्नैपर्छ भन्न सकिन्छ ।

लामो समय पत्रकारिताका विभिन्न क्षेत्रमा परिचित तथा हाल राजनीतिशास्त्रका प्रध्यापक डा. पुष्प अधिकारीले यो पुस्तक १० वर्षको परिश्रमबाट तयार पारेका छन्, जुन मेहनत पुस्तक पढ्दै गर्दा देखिन्छ पनि ।

लान्सर पब्लिकेसन्स नयाँ दिल्लीले प्रकाशनमा ल्याएको यो पुस्तक अमेजन, फ्लिपकार्ट, लान्सर पब्लिसर्सबाट अनलाइन खरिद गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?