+
+
Shares

इजिप्टमा इजरायल–हमास अनौपचारिक वार्ता सुरु, युद्ध बन्दी रिहाइमा वार्ता केन्द्रित

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते ७:३०
इजरायली सैन्य कारबाहीबाट गाजा क्षेत्रमा हालसम्म ६७ हजार १६० जना मारिएका छन् ।

२१ असोज, काठमाडौं । अमेरिकी शान्ति योजनाको अन्तिम सम्झौतामा पुग्ने उद्देश्यका साथ इजिप्टको सहर शर्म एल–शेखमा इजरायल र हमासका प्रतिनिधिहरुबीच अनौपचारिक वार्ता सुरु भएको छ ।

बीबीसीका अनुसार वार्ताहरू युद्धबन्दीहरु साटासाटको वातावरण तयार पार्ने विषयमा केन्द्रित छन्, जसअन्तर्गत सबै इजरायली बन्धकहरूको रिहाइको सट्टामा केही प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरिने प्यालेस्टिनी र इजिप्टेली अधिकारीहरूले बताएका छन् ।

हमासले शान्ति योजनाका केही प्रस्तावहरूमा सहमति जनाए पनि, आफ्नो निशस्त्रीकरण र गाजामा भविष्यको भूमिकासम्बन्धी केही महत्वपूर्ण मागहरूमा भने प्रतिक्रिया दिएको छैन ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आउँदो केही दिनभित्र’ बन्धकहरू रिहाइको घोषणा हुने गत शनिबार बताएका थिए । त्यसैले इजिप्टको सहर शर्म एल–शेखमा अनौपचारिक वार्तालाई चासोका साथ हेरिएको छ ।

अनौपचारिक वार्ताको क्रममा इजिप्ट र कतारका अधिकारीहरूले इजरायल र हमासका टोलीहरूसँग छुट्टाछुट्टै छलफल गर्ने बीबीसीले जनाएको छ ।

यो वार्ता ७ अक्टोबर २०२३ मा दक्षिण इजरायलमा हमासले गरेको आक्रमणको दोस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा भइरहेको हो । उक्त आक्रमणमा करिब १,२०० जनाको मृत्यु भएको थियो र २५१ जना बन्धक बनाइएका थिए।

इजरायली सेनाले त्यसको जवाफमा गाजामा सैन्य अभियान सुरु गरेको थियो । त्यसयता, गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली सैन्य कारबाहीबाट हालसम्म ६७ हजार १६० जना मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?