+
+

दोहामा मोरक्कोको जर्सीको अत्यधिक खोजी, व्यापारीलाई माग धान्नै गाह्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १६:१२

२८ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा आइपुग्दा मोरक्कोको जर्सीको माग अत्यधिक बढेको छ ।

दोहाका पसलहरुमा मोरक्कोको जर्सीको माग धान्न व्यापारीलाई हम्मे परेको छ । स्पेन, बेल्जियम र पोर्चुगलमाथि अनपेक्षित नतिजा निकाल्दै अफ्रिकी टिम पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो ।

हालसम्म छापिएका जर्सीहरु बिक्री भइसकेका छन् भने अझै माग भने घटेको छैन । प्रतियोगिताको सुरुवाती दिनहरुमा मोरक्कोमा कसैको ध्यान थिएन ।
सबैले ‘जायन्ट’ राष्ट्रहरुको जर्सी र झण्डाको माग गरिरहन्थे । कतारमा पनि ब्राजिल, अर्जेन्टिना, स्पेन तथा अन्य पूर्व विजेता टिमहरुको जर्सी धेरै उपलब्ध थिए ।

समूह चरणमा जसरी जसरी मोरक्कोले महाशक्ति भनिएका राष्ट्रहरुलाई हराउन थाल्यो, त्यसपछि विश्वको ध्यान मोरक्कोमाथि प¥यो ।

दोहाका ठूला मलहरुमा जर्सी सकिएका छन् भने साना गल्लीका पसलहरुमा पनि नपाइने अवस्था भएको छ । त्यति मात्रै होइन, उत्पादक देश बंगलादेश तथा चीनमा पनि जर्सी सकिएको दोहाका व्यापारीहरु बताउँछन् ।

कतार आउने पर्यटकको रोजाईमा पहिला अर्जेन्टिना, ब्राजिल र आयोजक राष्ट्र कतारकै जर्सी पर्थे । तर, समूह चरणको खेल सकेर अहिले मोरक्को सेमिफाइनल पुग्दा भने प्राय मुस्लिम राष्ट्रको ध्यान मोरक्कोमा तानिएको छ ।

मोरक्कोले बुधबार राति साविक विजेता फ्रान्ससँग सेमिफाइनल खेल्नेछ । यसबेला विश्वकपबाट बाहिरिएका हरेक टिमको नजर मोरक्कोमा छ ।

‘नोभेम्बरसम्म हामीले मोरक्कोको जर्सी दैनिक एक÷दुईवटा बेच्थ्यौं । पोर्चुगललाई हराउँदै सेमिफाइनल प्रवेश गरेपछि दर्जनौं मगाउँदा पनि पु¥याउन सक्ने अवस्था छैन,’ दोहाका जर्सी व्यापारी मोहम्मद सादिकले भने ।

समूह चरणमा उत्कृष्ट प्रदर्शनसहित अगाडि बढ्दै जाँदा यो देशको जर्सी, झन्डा र स्कार्फको माग पनि बढ्न थाल्यो । सादिकले भने, ‘हरेक पटक जब मोरक्कोले जित्थ्यो, हामी सयौंको संख्यामा जर्सी मगाउँथ्यौ, ती जर्सीहरु खेल हुने दिनको दिउँसो नै सकिन्थ्यो ।’

मोरक्को सेमिफाइनलमा प्रवेश गरेसँगै विश्वभरका हजारौंको संख्यामा रहेका उसका समर्थक कतार आउने क्रमा छन् । उनीहरु कतार आउनेबित्तिकै गर्ने सपिङ लिस्टमा अगाडि हुने कुरा हो– मोरक्कोको झन्डा, जर्सी र स्कार्फ ।

मोरक्कोले पोर्चुगललाई हराउनेबित्तिकै बार्लिनका अनास एल करिम दोहाका लागि उडेका थिए । उनले भने, ‘मैले पसलमा गएर मेरो टिम (मोरक्को) को जर्सी किन्छु भन्दा सबै जर्सीहरु बिकिसके भन्ने जवाफ पाएँ ।’ उनी मोरक्कोको जर्सी नपाएर निकै हतास देखिन्थे ।

ठूला राष्ट्रहरुलाई पराजित गरेपछि विश्वभरिमा मोरक्कोको समर्थक बढेका छन् । सादिकको पसलमा आएका भारतका फुटबल समर्थक यूसुफ अहमदले भने, ‘युरोपियन टिमलाई नहराउँदासम्म त म मोरक्कोको समर्थक थिइनँ तर उनीहरुले स्पेन र पोर्चुगललाई हराएपछि धेरै दिनदेखि मैले मोरक्कोको जर्सी खोजिरहेको छु भेट्टाउन सकेको छैन । जर्सी भेटिन अब झन्डाले काम चलाउँछु ।’

रातो झण्डाको बीचमा हरियो तारा अहिले कतारको हरेक गल्लीमा देखिन थालेको छ । दोहाको सडकमा यो झण्डा यत्रतत्र देखिन्छ । कतारका गगनचुम्बी महलहरुमा मोरक्कोको हरेक जितमा रातो झण्डा फहराएको देख्न सकिन्छ । भारत, पाकिस्तान तथा बंगलादेशीहरु पनि मोरक्कोको झण्डा खोज्न दोहाका पसलहरु चाहारिरहेका छन् ।

झण्डाको माग अति बढ्न थालेपछि कतारी व्यापारीले आफैंले झण्डा उत्पादन गर्न थालेका छन् । ‘बंगलादेशी र पाकिस्तानी पुरुषहरुको समूहले स्थानीय बजारबाट रातो कपडा ल्याई घरमै मोरक्कोको झण्डाको स्वरुप दिएका छन्,’ सादिकले हस्तनिर्मित झण्डातिर इंगित गर्दै भने, ‘उनीहरुले हरियो रंगको षट्कोण बनाएर सही तरिकाले गलत काम गरिरहेका छन् । खरिदकर्तालाई त्यसको केही वास्ता छैन ।’

मोरक्कोको टिसर्ट सुरुवाती दिनहरुमा ३० रियलमा (८ डलर) मा बेचिन्थ्यो भने अहिले ५० रियल (१४ डलर) मा बेचिरहेका हुन्छन् ।

‘हामीले खरिद गरेर ल्याउने चीन र बंगलादेशमा नै अब कुनै पनि टिसर्ट बाँकी छैन भन्ने खबर आएको छ । हामीसँग अब केही दर्जन मात्रै टिसर्ट बाँकी छ, हामीले त्यसमध्ये पनि धेरै बेचिसक्यौं,’ दोहाका व्यापारी मोहम्मदले भने ।

व्यापारीले केही सातायता निकै नाफा कमाइरहेका छन् । अब केही दिनमात्रै बाँकी रहेको विश्वकपको उनीहरुले भरसक फाइदा लिइरहेका छन् ।

यदि मोरक्कोले सेमिफाइनलमा फ्रान्सलाई हराए सादिकलाई मोरक्कोका समर्थकको माग पूरा गर्न असम्भव हुनेछ । किनकी टिम फाइनल पुगेको खण्डमा मोरक्कोका समर्थकले दोहालाई रातो शहरमा परिणत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?