+
+

अखिल क्रान्तिकारीका कोषाध्यक्ष र लेखा आयोग प्रमुखले भने- आर्थिक चलखेल भएकै बुझिन्छ

तत्काल बैठक बोलाउन माग गर्दै सात उपाध्यक्षले दिए संयुक्त निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते ८:२८

२९ मंसिर, काठमाडौं । सिटिइभिटी र पोखरा विश्वविद्यालयसँग आर्थिक ‘बार्गेनिङ’ गरेको भन्ने विषयले माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र थप विवाद बढेको छ ।

केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग प्रमुखले संयुक्त विज्ञप्ति निकालेर केन्द्रको निर्देशनमा आर्थिक चलखेल भएको बुझिएको भन्दै त्यस्तो काममा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । यस्तै सात जना उपाध्यक्षहरुले संगठन भित्र देखिएको समस्या समाधानका लागि तत्काल पदाधिकारी बैठक बसाल्न माग गर्दै पार्टी कार्यालय र अध्यक्ष पञ्चा सिंहलाई संयुक्त रुपमा निवेदन दिएका छन् ।

उपाध्यक्षहरु इन्द्र भुसाल, मिलन एमसी, लक्ष्मी जोशी, राजकुमार याक्सो, नारायण खनाल, डा. अच्युत भट्ट र गजेन्द्र देवले बैठकको माग गर्दै निवेदन दिएका हुन् । उपाध्यक्ष भुसालले अध्यक्ष पञ्चा सिंहले समय नदिएपछि इमेलमार्फत् पत्र पठाइएको र पार्टीको पनि यसप्रति ध्यानाकर्षण होस् भनेर केन्द्रीय कार्यालय पेरिसडाँडामा आफैं उपस्थित भएरै निवेदन दर्ता गराएको बताए ।

सात जना उपाध्यक्षहरुले बैठक बोलाउन माग गर्दै निवेदन दिएकै दिन केन्द्रीय कोषाध्यक्ष भूषण शाही र केन्द्रीय लेखा आयोग प्रमुख विश्वमणि थापाले संयुक्त विज्ञप्ति निकालेर संगठनका जिम्मेवार नेताहरुबाट सिटिइभिटी, पोखरा विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा सम्बन्धन र कार्यक्रम विस्तारलाई लिएर आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको विषयले संगठनको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा भएको उल्लेख गरेका छन् । उनीहरुको विज्ञप्तिमा लेखिएको छ, ‘कुनै पनि कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरुको तय, मुद्दाहरुको उठान प्रक्रिया र सम्बिन्धित निकायमा प्रारम्भिक रुपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ ।’

बैठक बोलाउन माग गर्दै अखिल क्रान्तिकारीका सात उपाध्यक्षले दिएको निवेदन तथा केन्द्रीय कोषाध्यक्ष र लेखा आयोग प्रमुखको संयुक्त विज्ञप्ति (दायाँ) ।

उनीहरुले विश्वविद्यालय, कलेज र अन्य निकायमा अखिल क्रान्तिकारीको नाममा भइरहेको आर्थिक गतिविधि बन्द गर्न अनुरोधसमेत गरेका छन् । साथै अहिले उठेको प्रश्नमा सत्यतथ्य छानबिन गरी आर्थिक चलेखल गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन पार्टी, संगठनको फ्र्याक्सन कमिटी र केन्द्रीय कार्यालय समक्ष माग समेत गरेका छन् ।

केन्द्रीय उपाध्यक्षहरु इन्द्र भुसाल र नारायण खनालले सिटिइभिटी र पोखरा विश्वविद्यालयमा अखिल क्रान्तिकारीबाट आर्थिक बार्गेनिङ भइरहेको सामाजिक सन्जालमा लेखेका थिए । अखिल क्रान्तिकारीको सिटिइभिटी राष्ट्रिय समितिका अध्यक्ष वीरेन्द्र विष्टले भने बुधबार पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका थिए । उनले संगठनविरुद्ध दुष्प्रचार गर्नेहरुलाई कारबाही गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?