+
+

घट्यो इन्धनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते २०:१३

१ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि पनि ठूलो नाफामा छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरेन ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय विगतमा निगमले उपभोक्तालाई यो भन्दा पनि ठूलो मूल्य वृद्धिबाट जोगाएका कारण अहिले निगमको वक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्ने तर्क गर्छन् ।

‘अहिले सञ्चित नोक्सानी र ऋणका कारण निगम ठूलो संकटमा छ, यसलाई उपभोक्ताले सघाउनु पर्‍यो,’ प्रवक्ता उपाध्यायले भन्छन् , ‘पहिले चर्को मूल्य वृद्धिमा निगमले उपभोक्तालाई जोगायो, अहिले उहाँहरुले चर्को मूल्यमा हामीलाई सघाउनुपर्‍यो ।’

आयल निगमको नाफा र घाटाको हिस्सा उपभोक्तालाई बराबर बाँड्न निगम आफैंले बनाएको स्वचालित मूल्य समायोजन प्रणाली लागू नगरेको एक वर्षभन्दा बढी भइसकेको छ ।

निगमले पेट्रोलियम पदार्थको आयात र बिक्रीलाई अन्तर्राष्ट्रिय मूल्यबाट प्रभावित हुन नदिन २०७१ सालमा स्वचालित मूल्य निर्धारण कार्यविधि लागू गरेको थियो । १५ दिनको खरिद मूल्यलाई आधार मानेर निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गर्दै आएको थियो । तर रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण स्वचालित मूल्य प्रणाली लागू गर्न नसकिएको प्रवक्ता उपाध्याय बताउँछन् ।

पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ । १९ अर्ब घाटा पूर्ति गरेर निगमले सञ्चित नाफा केही अर्ब नपुर्याएसम्म अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन नगर्ने निगमो योजना छ ।

हेर्नुहोस् मूल्य सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?