+
+

नौ महिनादेखि बस्न सकेन धरान खानेपानी बोर्ड बैठक, सूचना माग्दा नदिएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १२:१३

३ पुस, धरान । नौ महिनासम्म धरान खानेपानी बोर्डको बैठक बस्न नसकिरहेको अवस्थामा दलहरुले बोर्डको पारदर्शिताबारे जानकारी माग्दा पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सूचना दिन अवरोध गरेको आरोप लागेको छ ।

खानेपानी बोर्डका सदस्य समेत रहेका नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेलले नौ महिनासम्म बोर्डको बैठक डाक्न नसकेको बताए । तीन करोड बढीको सामग्री सहयोगको रुपमा आएको प्रचार गरेका मेयरले सबै सामग्री खानेपानी बोर्डका लागि प्रयोगसमेत नगरेको आरोप पोख्रेलले लगाए ।

‘७५ प्रतिशत सामग्री खोलाखोल्सीतिर गएको छ, त्यसले कति उत्पादन दियो ?’, बोर्ड सदस्य पोख्रेलले प्रश्न गरे, ‘बोर्डको हिसाबकिताब बारे बुझ्न जाँदा लेखा अधिकृतले जानकारी नदिनू भन्ने नगर प्रमुखको निर्देशन छ भने, अहिले धरान उपमहानगर र खानेपानी बोर्ड खोक्रो बन्दै गैरहेको छ ।’

धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय–व्यय प्रस्तुत हुन सकेन । बिहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार धरानको खानेपानीको आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

तर आर्थिक प्रशासन महाशाखाका कर्मचारीले हिसाबकिताब नदिनू भन्ने नगर प्रमुखको निर्देशन रहेको बताएका थिए । सूचना नदिएकै कारण हिसाबकिताब सार्वजनिक गर्न नसकिएको धरान १७ का वडाध्यक्ष एवम् धरान कार्यपालिकाका प्रवक्ता सूर्यकुमार भट्टराई (मनोज) ले बताए । ‘हामीले प्रक्रियागत रुपमा सूचना मागेका हौं, सूचना दिइएन, यसमा हाम्रो आपत्ति छ’, वडाध्यक्ष भट्टराईले भने ।

आर्थिक प्रशासन महाशाखाका प्रमुख भेषराज अधिकारीले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले खानेपानीको आयव्ययको लागत सूचनामार्फत माग गरेको बताए । ‘उहाँहरुले सूचना मागेकै हो, तर मेयरसाबले अहिले नदिनू, तीन–चार दिनमा म आफैं सार्वजनिक गर्छु, भनेकाले दिन नसकिएको हो,’ महाशाखा प्रमुख अधिकारीले भने ।

नगरप्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत हिसाबकिताब आफैं सार्वजनिक गर्ने बताएका छन् । जो पायो त्यहीले जतिखेर पायो त्यतिखेर सूचना माग गर्दा दिन बाध्य नहुने आशय व्यक्त गर्दै साम्पाङले लेखेका छन्, ‘म आफैं दिनेछु सूचना खानेपानी बोर्डको ! जो पायो त्यसले जतिखेर माग्यो त्यतिखेर दिनुपर्ने भन्ने हुँदैन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?