+
+

सरकार भन्छ- आयात प्रतिबन्ध हट्यो, राजपत्र कुर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १८:४५

४ पुस, काठमाडौं । सरकारले आयात प्रतिबन्ध हटाउने निर्णय गरे पनि वाणिज्य मन्त्रालयले समन्वय गर्न नसक्दा आयात प्रतिबन्ध यथावत रहेको पाइएको छ ।

सरकारले २८ असोजमा मंसिर मसान्तसम्म चार प्रकारको वस्तुहरुमा आयात प्रतिबन्ध कायम रहने गरी प्रतिबन्ध लम्ब्याएको थियो । तर, मन्त्रिपरिषदले यो प्रतिबन्धको म्याद नथप्ने निर्णय गरेपनि सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छैन ।

प्रतिबन्ध हटेकोबारेको सूचना राजपत्रमा प्रकाशित नभएपछि नेपाल राष्ट्र बैंकले ति वस्तुको आयात गर्न एलसी -प्रतितपत्र) खोल्न बैंकहरुलाई सूचना जारी गरेको छैन । जसका कारण अधिकांश बैंकहरुले महँगा गाडी, मोबाइल, मोटरसाइकल, र विदेशी मदिराको आयातमा एलसी खोल्न मानेका छैनन ।

व्यवसायीहरुका अनुसार एलसी खोल्न गएका व्यापारीलाई बैंकहरुले राष्ट्र बैंकबाट सर्लुलर नआएका कारण सरकारले निर्णय गरेपनि एलसी खोल्न नसकिने जवाफ दिएका छन् ।

नेपाल राष्ट्र बैंक स्रोतले पनि वाणिज्य मन्त्रालयले आयात खुलेकोबारे राजपत्रमा सूचना नआएका कारण प्रतिबन्धित वस्तुको एलसी नखुलेको जनाएको छ ।

‘नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएर राजपत्रमा सूचना प्रकाशित भएको हो । आयात खोल्ने भनेर निर्णय भएको भन्ने सुनको हो । कुनै जानकारी आएको छैन् भने राजपत्रमा पनि सूचना प्रकाशित भएको छैन,’ ती अधिकारीले भने, ‘सरकारको औपचारिक निर्णय नआई यसमा राष्ट्र बैंकले निर्णय गर्न सक्दैन । राष्ट्र बैंक सरकारको निर्णय कुरेर बसेको छ ।’

यता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने सरकारले मिति तोकेर प्रतिबन्ध लगाएका कारण राजपत्रमा सूचना निकाल्नु नपर्ने दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले आयात खुलिसकेको बताए । ‘आयात प्रतिबन्ध हटिसक्यो, कुनै राजपत्र निकाल्नुपर्दैन,’ प्रवक्ता रेग्मीले भने, ‘हामीले राष्ट्र बैंकलाई भनिसकेका छौं ।’

तर, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक सुदेश खालिङले भने मदिरा र मोबाइलको आयातका लागि एलसी खुल्न थालेको बताए । ‘गाडीको आयातका लागि व्यवसायीहरु आएका छैनन्, तर मोबाइल र मदिरा आयातको एलसी प्रक्रिया सुरु भएको छ ।’

यता भन्सार विभागले पनि वाणिज्य मन्त्रालयले राजपत्र प्रकाशन नगरेका कारण केही बैंकहरुले आयात प्रक्रिया सुरु हुन नसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?