+
+
पत्र :

प्रचण्ड २.० को प्रतीक्षामा

संघीय र प्रादेशिक सरकारको कामलाई ध्यानमा राख्दै स्थानीय सरकारको कामकारबाहीलाई अनुगमन गर्ने हिसाबमा संयन्त्र बनाउँ न। पार्टीले नै हामीले जितेको स्थानीय सरकारलाई क्युरेट र मेन्टर गरी नमूना बनाउन सकेमा हाम्रो मोडल विकास हुन गई त्यसको जगमा संगठन विस्तार गर्न सकिने मैले देखेको छु।

सन्देश पौड्याल सन्देश पौड्याल
२०७९ पुष ११ गते ११:२७

कमरेड प्रचण्ड,

तपाईंलाई कमरेड मात्रले सम्बोधन गरें, अप्ठेरो मान्नुहुने छैन भन्ने आशासहित यो पत्र लेखेको छु। केही आलोचना, केही समीक्षा र केही सुझावहरू यो पत्रमा समेटिएका छन्— आशा छ पार्टीलाई, आन्दोलनलाई अझ मजबूत बनाउन एउटा कार्यकर्ताको इमानदार विच्छेदन/प्रश्न, बुझ्ने प्रयास र सुझावको रूपमा यसलाई ग्रहण गर्नुहुनेछ। हुनत चुनावको नतिजापछि आएको हुनाले घाइते बाघको जुँगा उखेल्ने दुस्साहस देखिएला तर त्यसो होइन र तपाईं जत्तिको नेताले त्यसरी लिनुहुने छैन भन्ने विश्वास लिएको छु।

हालै सम्पन्न आम निर्वाचनमा पार्टीको अवस्था अपेक्षित छैन। केही कमरेडहरूले यसमा भोट ट्रान्सफर भएन, देशी—विदेशी प्रतिक्रियावादीले खेले भन्ने खालको हलुका (वा कसैले नबुझ्ने गरी भारी) टिप्पणी गरेर पानी माथिको ओभानो बन्न खोजिरहनुभएको छ। त्यो कुरा राजनैतिक रूपमा सही पनि होलान् तर आफ्नो संगठन, विचार र रणनीति ठिक हुँदा-हुँदै हारेको हो भन्न सक्ने नैतिकता कति कमरेडहरूमा छ त ? यो प्रश्न गम्भीर छ।

कमरेड

समकालीन नेपाली राजनीतिमा कुनै पार्टीसँग जनताको ठूलो आश थियो त त्यो पार्टी माओवादी नै थियो, त्यो राजनीतिज्ञ तपाईं नै हुनुहुन्थ्यो। आजसम्म आइपुग्दा यो पार्टीले पनि के गर्यो र ? भन्ने मात्र प्रश्न होइन, जनजीविकाको अवस्था यस्तै हुनुथियो त ! विदेशिने बाध्यता यस्तै हुनुथियो त ! आर्थिक स्थिति यस्तै कमजोर र परनिर्भर हुनुथियो त ! सरकारी संयन्त्र यस्तै परजीवी हुनुथियो त ! भ्रष्टाचार अझ मौलाउनु थियो त ! वैदेशिक हस्तक्षेप यस्तै बढ्नु थियो त! किन त्यस्तो ध्वंश मच्चाएको भन्ने प्रश्न तेर्सिन थालेका छन्। जनजीविका र दिनानुदिन देखिने प्रश्नको सवालमा परिवर्तन देखिंदैन भने राजनैतिक परिवर्तन अधुरो देखिने रहेछ।

सन्देश पौड्याल

यस्ता प्रश्न तेर्स्याउनले हजुरलाई प्रत्यक्ष भेट्न पाउँछन् वा पाउँदैनन् थाहा भएन तर हामीले निरन्तर उत्तर दिनुपर्ने, साक्षात्कार गर्नुपर्ने प्रश्न यस्तै बनेका छन्। हाम्रो उपलब्धिलाई उत्तर बनाउँदै आएका थियौं तर आज ती उपलब्धि पनि कमजोर धरातलमा उभिएका छन्। राजतन्त्रको अवशेष विभिन्न अवयवमार्फत सल्बलाइरहेका छन्, संघीयतामाथि प्रश्नका चाङ तेर्सिएका छन्, समानुपातिक प्रणाली बदनाम भएको छ। लोडसेडिङ अन्त्य र काठमाडौंमा बाटो विस्तारले धन्न धन्न अहिलेसम्म इज्जत धानिरहेको अवस्था छ।

राजनीति र विकासक्रममा चासो राख्नेहरूलाई थाहा छ, विकास सजिलै हुने कुरा होइन। परिवर्तन सजिलै संस्थागत हुँदैनन्। सदियौंदेखि शोषण, पीडनमा रमाएको केन्द्रीकृत सामन्ती व्यवस्थाको भ्रूणबाट तत्काल समावेशी विकासको आशा गर्नु उचित होइन तर कमरेड हामी शान्तिपूर्ण राजनीतिमा आएको पनि १६ वर्ष भएछ। यो १६ वर्षमा हामीले गरेका कोशिश, हामीले गरेका कार्य, हामीले लिएका राजनैतिक कदम, हामीले राज्यसत्तामा गरेका प्रयोग आज प्रश्नै प्रश्नको घेरामा रहेका छन्, केही अर्ध-उत्तरित केही अनुत्तरित।

एउटा उदाहरण हेरौं संघीयताको। आज हामीले मानेको उपलब्धि मध्ये सबैभन्दा बदनाम संघीयता होला। बेथिति, भ्रष्टाचार र खर्च बढाउने बाहेक यसले केही गरेकै छैन भन्ने आम मानिसको बुझाइ छ। त्यस्तो पक्कै होइन। संघीयता सही मानेमा काम गर्न नसकेको त केन्द्रीकृत व्यवस्थामा हुर्केको राजनीतिले त्यसलाई फक्रिन नदिएर हो, प्रदेशलाई उचित कानुन नबनाएर हो, संघले हस्तक्षेपकारी भूमिका खेलेर हो, बजेट दिंदा भीख मागेको जस्तो बनाएर हो। तर एक, हामीले जनतालाई यो बुझाउन सकेका छैनौं र दुई, हामी दुवै तहको सरकारमा हुँदा पनि यो कुरालाई हामीले ध्यानमा राख्न सकेनौं। आज अवस्था यस्तो छ कि हाम्रो कार्यकर्तालाई हामीले उपलब्धि मानेको संघीयताको पक्षमा बोल्न नसक्ने अवस्था बनेको छ। अझ विशेषगरी शहर बजारमा त संघीयताको औचित्य पुष्टि गर्न सक्ने कार्यकर्ता र विषयको गहनता नभएको अवस्था छ। यो एउटा प्रतिनिधि घटना हो, हामीले उपलब्धि भनेका सबैमा यही समस्या विद्यमान छन्। जब पार्टी पंक्ति यो विषयमा मुखरित भएर/गौरवान्वित भएर बोल्न र कन्भिन्स गर्नेसम्म हुँदैन तबसम्म पार्टी संगठन विस्तार हुन सक्दैन भन्ने मान्यता हो।

कमरेड

पार्टी निर्माणमा तीन वटा कुरा महत्वपूर्ण हुन्छन् भन्ने तपाईंहरूबाटै सुनेको हो— विचार, संगठन र नेतृत्व।

विचार: अझै पनि विचार निर्माण र विचारको सान्दर्भिकताको हिसाबमा माओवादी बलियो छ भन्ने लाग्छ। जनयुद्धमा खारिएर आएको विचार सजिलै हराउने सम्भावना पनि एक पुस्तामा त कम नै हुन्छ। तर वैचारिक हिसाबमा पनि हामी परिष्कृत हुन जरूरी देखिन्छ। हाम्रो राज्यसंरचना कस्तो रहने ? हाम्रा राजनैतिक संस्थाहरू कसरी बलियो बनाउने ? हाम्रो रक्षा तथा परराष्ट्र नीति कस्तो रहने ? हाम्रो समाजको अहिलेको प्रमुख अन्तरविरोध के हो ? अर्ध-सामन्तवाद र अर्ध-औपनिवेशको आजको स्थिति के हो ? हाम्रो समाजको सामूहिक लक्ष्य र उद्देश्य के हो ? यी प्रश्न त रहेका छन् नै मुख्य समस्या र चासो हाम्रो अर्थतन्त्रमा रहेको छ—

१. हाम्रो अर्थतन्त्रको आधार र लक्ष्य के हुने ? २. रोजगारी सृजना र उत्पादन वृद्धि कसरि गर्ने ? उद्यमशील समाज कसरि निर्माण गर्ने ? ३. राष्ट्रिय पूँजी निर्माण कसरी गर्ने ? कसरी परिचालित हुन्छ ? ४.वैदेशिक लगानी, सहायता र सहयोगलाई कसरि हेर्ने ? ५. आर्थिक पारदर्शिता र जवाफदेही कसरी स्थापित गर्ने ?

आज यी प्रश्नहरूले समयानुकूल उत्तर खोजेका छन्। आज हामीलाई उत्तर सिद्धान्त र प्रयोगको उचित मिश्रणवाला चाहिएको छ। ठोस स्थितिको ठोस विश्लेषण सबैभन्दा बढी हाम्रो अर्थतन्त्रको हुनुपरेको छ। आखिर संसारकै सबैभन्दा गरिब देशमध्येको भनी संचारमाध्यममा सुन्दा हाम्रो कुन कार्यकर्ताको मुटु पोल्दैन होला र ?

योसँगै हाम्रा उपलब्धिहरूको विषयमा हामी सबै कार्यकर्ता र नेतालाई पुन: ताजगी गर्नुपर्ने देखिन्छ। संघीयता किन चाहिएको हो ? यसको फाइदा के के हुन् ? आजसम्म संघीयता किन आशातित काम गर्न नसक्ने अवस्थामा पुगेको छ ? अब उप्रान्त के हुँदा यसले अपेक्षित फाइदा दिनेछ ? सबै विषयमा यस्तै प्रश्नहरूको उत्तरसहित वैचारिक हिसाबमा सशक्त बनाउन जरूरी देखिन्छ।

विचारको मेरुदण्ड बलियो हुँदा मात्र संगठन र नेतृत्व बलियो हुन्छ भन्ने कुरामा कुनै दुईमत नहोला। हाम्रो संगठन, जनवर्गीय संगठन र विभिन्न मोर्चाहरूमा पनि धेरै विचारको अस्पष्टता, मेरिटोक्रेसीको अभाव आदि समस्या देखिएका छन्। तर भित्रको त्यति ज्ञान र जनाकारी नभएकाले त्यसतर्फ तपाईंको ध्यानाकर्षण मात्र गराउन चाहें।

कमरेड

विगत तीन निर्वाचनको हाम्रो समानुपातिक मत हेर्ने हो भने हामी निरन्तर संकुचनमा नै छौं। बाहिरी कारण पनि प्रशस्त होलान्, कति हामी कार्यकर्ताले बुझ्न सक्ने भन्दा माथिका कारण पनि होलान् तर आन्तरिक कमजोरी पनि त्यसो हुनुको मुख्य कारक हो भन्नेमा संशय राख्न पर्दैन जस्तो लाग्छ।

नेपालको राजनीतिमा अझ पनि प्रष्ट विचार भएको पार्टी हाम्रो नै हो तर विगत केही समयदेखि त्यो स्पष्टता, त्यो प्रष्टता देखिएको छैन। यसको पछिल्लो उदाहरण एमसीसी र सुकुम्बासी घटना हो। विचारमा प्रष्ट नहुनाले हामी अंग्रेजीमा भनिने जस्तै अल ओभर द प्लेस देखियौं। साथै हामी सरकारकै मात्र आकांक्षी हो कि भन्ने प्रश्न तेर्सिएको छ ? चलायमान र लचक हुने भन्दाभन्दै कतै हामी हाम्रो सिद्धान्तबाटै विचलित पो भइसकेका हौं कि भन्ने प्रश्न उठ्ने कार्यकर्ता म मात्र एक्लो होइन होला। संसदीय राजनीतिमा शक्तिको/राज्यसत्ताको महत्व हामीले दु:खसँगै बुझेकै हौं तर त्यति मात्रले हाम्रो राजनीति परिभाषित गर्नुहुँदैन जस्तो लाग्छ।

कमरेड

नयाँ पुस्तामाझ हामी कमजोर छौं। अरु स्थापित पार्टीहरूको जस्तो चुस्त संगठन वा आर्थिक क्षमता नभएकाले कार्यकर्ता व्यवस्थापन हाम्रो लागि ठूलो चुनौती बन्न थालेको भान हुन्छ। यस्तो अवस्थामा कि त त्यही पारम्परिक राजनीतिलाई होइन भने स्पष्ट विचार निर्माणलाई मेरुदण्ड मानी संगठन विस्तार गर्नु निर्विकल्प जस्तै देखिन्छ। पारम्परिक तौरतरिका नै अपनाउने भए हाम्रो त्यति प्रासंगिकता पनि नहोला।

यसको सुरुवात पनि हामी आफैं गर्न सक्छौं। संघीय र प्रादेशिक सरकारको कामलाई ध्यानमा राख्दै स्थानीय सरकारको कामकारबाहीलाई अनुगमन गर्ने हिसाबमा संयन्त्र बनाउँ न। पार्टीले नै हामीले जितेको स्थानीय सरकारलाई क्युरेट र मेन्टर गरी नमूना बनाउन सकेमा हाम्रो मोडल विकास हुन गई त्यसको जगमा संगठन विस्तार गर्न सकिने मैले देखेको छु।

हामी प्रत्येक स्थानीय सरकारसँग समन्वय गरौं। त्यहाँको श्रोतको अधिकतम उपयोग हुने बाटो पहिल्याउँ, त्यहाँको जनजीविका र सामाजिक स्थिति सुधार गर्ने कार्यक्रम लिएर जाउँ। हाम्रो राजनैतिक एजेण्डाहरूको डेमो स्थानीय सरकारमा प्रयोगमा लागौं। हामीले बनाउने मोडल सफल भएमा हाम्रो तेस्रो/चौथो/नयाँ पुस्ताको नेतृत्व विकास पनि हुनेथियो नै साथै पार्टीले कस्तो सरकार बनाउँछ भन्ने विषयको पनि डेमो हुनेथियो।

अन्त्यमा, समाजभित्रको अन्तरविरोधको सटिक विश्लेषण, दृढ लक्ष्य र संकल्प, मजबूत रणनीति र त्यसलाई पूरा गर्ने कार्यनीति पार्टीका जग हुन्। हिजो जनविद्रोहदेखि आज संसदीय राजनीतिमा आइपुग्दा हाम्रो जग केही हल्लिएको अवश्य छ। तर हल्लिएको जग फेरि दह्रोसँग स्थापित हुनेमा कुनै संशय छैन। हिजोको दिन सम्झिंदै, हिजोको त्याग र बलिदान सम्झिंदै, साथीहरूलाई सम्झिंदै, हाम्रा अपुरा कार्यहरू सम्झिंदै, हाम्रो भविष्य सम्झिंदै आफूलाई परिष्कृत गर्दै, समयसापेक्ष बनाउँदै, विचार र लक्ष्य निर्माणमा दृढ हुँदा हामी त्यो मुकाममा अवश्य पुग्नेछौं।

प्रचण्ड २.० को आशासहित !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?