+
+

गण्डकीको मुख्यमन्त्री बन्नेमा खगराज ढुक्क, माओवादीको पनि दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते २०:०२

१० पुस, पोखरा । काठमाडौंमा सत्ता समीकरणमा हेरफेरको असर गण्डकी प्रदेशमा पनि परेको छ । अब गण्डकी प्रदेशमा एमाले, माओवादी र राप्रपाको गठबन्धनले सरकार बन्ने देखिएको छ । २७ सांसद जितेको कांग्रेस र ८ सांसद जितेको माओवादी मिल्दा सहज ढंगले सरकार बन्थ्यो ।

माओवादी २२ सिट भएको एमालेतिर मिल्दा ६० सदस्यीय गण्डकी प्रदेशमा ३० जना सांसद हुने भएका छन् । त्यसमा गण्डकीमा समानुपातिक प्रणालीमार्फत चुनिएका राप्रपाका २ सांसद मिल्दा सरकार र सभामुख चयनमा राप्रपा निर्णायक बन्ने भएको छ ।

राप्रपाले पनि एमाले-माओवादीलाई साथ दिँदा यही गठबन्धनको सरकार बन्ने र मुख्यमन्त्री पद एमालेले पाएमा नेता खगराज अधिकारीले सरकारको नेतृत्व गर्ने एमालेका एक सांसदले बताए ।

तर, आफू मुख्यमन्त्री बन्ने माओवादी सांसद तथा गण्डकीका पूर्व कानुनमन्त्री हरिबहादुर चुमानले दाबी गरे । ‘गण्डकीमा खगराजजी होइन, म मुख्यमन्त्री हुने सम्भावना छ । कर्णाली र गण्डकी माओवादीले पाउँछ’ चुमानले भने, ‘त्यही विषयमा छलफल गर्न म काठमाडौंमा छु ।’

माओवादीले दाबी गर्नु स्वभाविक भए पनि गण्डकीमा एमाले नेतृत्वमै सरकार बन्ने आइतबारमात्रै संसदीय दलको नेता बनेका खगराजले दाबी गरे । ‘म धेरै बोल्दिन गण्डकीमा एमाले नेतृत्वकै सरकार बन्छ’, उनले भने ।

गण्डकीमा १३ पुसमा ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुखसँग शपथ लिएपछि १४ गते अरू सांसदलाई शपथ गराउने कार्यक्रम तय भइसकेको छ । त्यसपछि सरकार निर्माणको प्रक्रिया सुरु हुनेछ ।

गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?