+
+

प्रदेश १ सरकारको नेतृत्वमा एमाले र माओवादीको दाबी

हरि अधिकारी हरि अधिकारी
२०७९ पुष ११ गते २०:५१

११ पुस, विराटनगर । केन्द्रीय राजनीतिमा आइतबारबाट नयाँ सत्ता समीकरण बनेपछि प्रदेश १ सरकारको नेतृत्वका लागि दुई दलले दाबी गरेका छन् । प्रदेश १ को ठूलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा १३ सदस्यसहित माओवादी केन्द्र तेस्रो दल हो । ४० सदस्य जितेको एमालेको एमालेको सशक्त दाबी छ । नेपाली कांग्रेस सहितको गठबन्धनमा हुँदा नेतृत्वका लागि माओवादीले दाबी गरेको थियो । एमालेसँग गठबन्धन भएपछि पनि माओवादी केन्द्रले प्रदेश १ सरकारको नेतृत्व दाबी गरेको हो ।

नेकपा एमालेबाट दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको उम्मेदवार हुन् । आइतबार भएको एमाले संसदीय दलको बैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको थियो ।

उनी आफू मुख्यमन्त्री बन्नेमा ढुक्क छन् । निर्वाचनमा सहकार्य गरेको एमाले, राप्रपा र जसपाको बहुमत रहेको बताउँदै उनले नयाँ समीकरणले गठबन्धनमा ६० मत पुगेको बताए ।

‘हामी एमाले राप्रपा र जसपा एक ठाउ निर्वाचन लडेर तीन दलको बहुमत सिट हासिल गरेका छौं, त्यो यहाँ एजिटिज छ, राष्ट्रिय राजनीतिमा पनि रहयो’, उनले भने, ‘नेकपा माओवादीले अहिले सत्ता समीकरणमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको छ, माओवादी थपिँदा यहाँ ६० सिटको पार्लियामेन्ट हाम्रो हुन्छ, केन्द्रीय सत्ताको बाँडफाँटमा अन्यथा नभए यहाँ (प्रदेश–१) एमाले नेतृत्वमा सरकार बन्ने निश्चित छ ।’

नयाँ सत्ता समीकरण बनेपछि प्रदेश सरकारको नेतृत्वमा सशक्त दाबी गरेको नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले बताए । दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित आङ्बो दलको नेताको दाबेदार हुन् । तर उनलाई नेता दुर्गा चापागाईले चुनौती दिइरहेका छन् ।

‘केन्द्रमा सात वटै प्रदेशका सबै पदाधिकारीहरुको बाँडफाँटको सन्दर्भमा छलफल चलिरहेको छ’, उनले भने, ‘अघिल्लो चरणमा पनि माओवादी नेतृत्वमा प्रदेश १ मा सरकार नबनेका कारण यो पटक माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो सशक्त दाबी छ ।’ पार्टीले केन्द्रमा पनि आफ्नो दाबी प्रस्तुत गरेको बताउँदै उनले प्रदेशमा पनि दाबी पेश गर्ने बताए ।

प्रदेशसभामा दोस्रो पटक निर्वाचित आङ्बो पार्टीले नेतृत्व नपाए आफू सरकारमा नजाने बताउँछन् । एमालेको नेतृत्वमा सरकार गठन पार्टीका अन्य सदस्य सहभागी हुने उनको भनाई छ ।

‘सबैभन्दा ठूलो दलको रुपमा रहेको एमालेको दाबीलाई म स्वभाविक रुपमा लिन्छु’, आङ्बोले भने, ‘मुख्य कुरा केन्द्रको निर्णय हो,केन्द्रबाट हुने निर्णयलाई सबैले स्वीकार्छाैं, माथिबाट बाँडफाँट भएपछि कसैले नछोड्ने भनेर हुन्न ।’

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?