+
+

मेलमिलाप दिवसमा गगन–विश्वले भने : गल्तीको ढाकछोप होइन आत्मसमीक्षा गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १६ गते १७:०७

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र भएका गल्ती कमजोरीको ढाकछोप नगरी आत्मसमीक्षा गर्दै अबको बाटो तय गर्नुपर्ने बताएका छन् ।

मेलमिलाप दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभाको ठूलो दल हुँदा पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । यो क्षणमा आग्रह, पूर्वाग्रहबाट मुक्त भएर समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमान्दार समीक्षा गर्नुपर्ने थापा र शर्माले बताएका छन् ।

‘हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने । नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

जनताको मतबाट पहिलो पार्टी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा मात्र यो पटक पछि परेको थापा र शर्माको निष्कर्ष छ । तैपनि कांग्रेसले बेइमानी नगरेको भन्दै उनीहरुले भनेका छन्, ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन ।’

अब कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने र जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनीहरुको भनाइ छ ।

थापा र शर्माले कांग्रेसमा विगतमा पनि यस्ता चुनौती र अप्ठेरा आइपरेको र त्यतिबेला सामना गरेर दृढतापूर्वक अघि बढेको भन्दै यसपटक पनि हताश हुने छुट नभएको बताएका छन् । ‘बरु यसलाई पार्टीको शुद्धिकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत हामीले प्रस्तुत गर्नुछ’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

कांग्रेस अलमलमा हुँदासम्म जनताको विश्वास फर्काउन नसकिने भन्दै उनीहरुले अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताएका छन् ।

त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउने, विधान अनुसार पार्टीका सबै संरचना र भातृ तथा सुभेच्छुक संस्थालाई पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम संचालन गर्ने, नीति महाधिवेशनबाट पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम गर्ने थापा र शर्माले बताएका छन् ।

‘बदलिएको कांग्रेस र बलियो कांग्रेसको सुस्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हामी हरेकले फेरि एकचोटी जुर्मुराउनुपर्नेछ’ उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?