+
+

मच्छिन्द्रमाथि सानदार जितपछि चर्चब्वाइज सेमिफाइनलमा

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष १७ गते १६:१५
चर्च ब्वाइज युनाइटेड । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

१७ पुस, पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेशका लागि आइतबार दुई च्याम्पियन मैदान उत्रिएका थिए- मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड ।

मच्छिन्द्र ०७८ को ए डिभिजन लिग च्याम्पियन टिम हो भने चर्च ब्वाइज बी डिभिजन च्याम्पियन बन्दै गएको चैतमा मात्रै ए डिभिजन उक्लेको थियो ।

दुवै टिम ‘लिग च्याम्पियन’ मात्रै थिएनन्, पहिलो पटक मैदानमा आमनेसामने भएका थिए ।

तर दुई च्याम्पियनबीचको स्पर्धामा चर्च ब्वाइजले बाजी मार्‍यो ।

चर्च ब्वाइजसँग ३–१  ले पराजित भएपछि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

चर्च ब्वाइजको जितमा निर्णायक रहे, आशीष चापागाईं र आशिष चौधरी । दुवै बी डिभिजनमा राम्रो अनुभव बटुलेका खेलाडी हुन् । चापागाईंले २२ औं र ४६ औं मिनेटमा २ गोल गरेका थिए भने आशिष चौधरीले खेलको ६५ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता तेब्बर बनाएका थिए ।

पहिलो हाफमै व्यक्तिगत दुई गोल गरेका चापागाईं बी डिभिजन लिगको उच्च गोलकर्ता पनि हुन् । खेलको २२ औं मिनेटमा चर्चका बिकु राईको लामो पासलाई पहिले अञ्जन विष्टले हेडिङ गरे पनि गोल रक्षक विशाल श्रेष्ठले सुरक्षित गर्न कोसिसमा थिए । तर, उनको हातबाट बल फुत्किएको मौकालाई अवसरमा बदल्दै चापागाईंले गोलमा परिणत गरे ।

चापागाईंको दोस्रो गोलमा आशिष चौधरीले असिस्ट गरेका थिए । उनले खेलको ४६ औं मिनेटमा चौधरीको पासलाई विपक्षी पोस्ट जाली चुमाएका हुन् । पहिलो हाफमा थपिएको अतिरिक्त ३ मिनेटको सुरुआतमै पाएको अवसरलाई उनले गोलमा बदले ।

खेलको ६५ औं मिनेटमा आशिष चापागाईंको असिस्टमा आशिष चौधरीले गोल गरेका हुन् । चापागाईंको क्रस पासलाई क्यास गर्र्दै चौधरीले सुन्दर फिनिसिङ दिए । चापागाईं खेलको म्यान अफ द म्याच घोषित भएका छन् ।

अघिल्लो पटक सेमिफाइनलसम्म यात्रा तय गरेको मच्छिन्द्र यस पटक भने क्वाटरफाइनलमै रोकिएको छ । पहिलो हाफमा पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा मच्छिन्द्रले लज्जास्पद हार व्यहोर्नुपर्‍यो । दोस्रो हाफमा भने मच्छिन्द्रलाई चर्च ब्वाइजले दबाबमा राखेको थियो ।

खेलको ८८ औं मिनेटमा शौरभ सुब्बाले मच्छिन्द्रका लागि सहानुभूति गोल गरे । उनले अभिषेक गुरुङको असिस्टमा खेलको अन्तिममा गोल फर्काएका हुन् । शौरभ र गुरुङ दुवै मध्यान्तरपछि मैदान प्रवेश गरेका थिए ।

चर्च ब्वाइजको आक्रामक उपस्थिति

आहाराराको २२ औं संस्करणसम्म आइपुग्दा पहिलो पटक सहभागी भएको चर्च ब्वाइज आक्रामक उपस्थितिमा छ ।

प्रिक्वाटरफाइनलमा आहाराराको ६ पटकको विजेता नेपाल पुलिसलाई स्तब्ध पार्दै चर्चले चर्चा बटुल्यो । पहिलो हाफमा १–० ले पछि परेको पुलिससँग खेललाई २–१ पुनरागमन गर्दै चर्चले नतिजा उल्ट्याएको थियो ।

चर्च ब्वाइजले हालैमात्र राष्ट्रिय टिमका तेज तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, दिनेश राजवंशीलगायत खेलाडी अनुबन्ध गरेर नयाँ टिम बनाएको छ । सहारा वर्षोत्कृष्ट खेलाडीसमेत बनेका अनन्तले चर्च ब्वाइजको कप्तानी सम्हालेका छन् ।

‘बाइ’ पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश पाएको मच्छिन्द्र ए डिभिजन लिगको विजेता हो । लिग वरियतामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रले आहारारामा हालसम्म ५ पटकसम्म सहभागी भएको छ । उपाधि नजिते पनि २ पटक सेमिफाइनल, २ पटक क्वाटरफाइनलसम्म पुगेको टोली हो ।

मच्छिन्द्र २०६६ सालको आहारारा पोखरा(आहा) गोल्डकपको क्वाटरफाइनलमा विभागीय टिम नेपाल आर्मीसँग ४–१ ले पराजित भएको थियो । ०६९ मा पनि क्वाटरफाइनलमै आयोजक सहारासँग पराजित भएर बाहिरिनु परेको थियो । खेलको अन्तिम समय (८९ मिनेट)मा सहाराले पेनाल्टीमार्फत गोल गर्दै जित निकालेको थियो ।

०७० मा मच्छिन्द्र आहारारा पोखरा गोल्डकपमा पहिलो पटक सेमिफाइनल पुगेको थियो । उक्त खेलमा पनि आयोजक सहारासँगै पराजित हुन पुगेको थियो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा सहाराले ५–३ ले जित निकाल्दै फाइनल पुग्दा मच्छिन्द्रको उपाधि नजिक पुग्ने सपना अधुरै रह्यो ।

त्यसयता लामो समय आहाराराको कुनै संस्करणमा सहभागी नभएको मच्छिन्द्र ०७७ मा सहभागी भएको थियो । तर, उक्त खेलमा मच्छिन्द्रले अघिल्ला संस्करणमा जस्तो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सकेन । प्रिक्वाटरफाइनलमै विदेशी टिम अमेरिकन रुट्ससँग २–० ले पराजित हुन पुग्यो ।

अघिल्लो हारको बदला लिँदै ०७८ को आहारारा पोखरा गोल्डकप संस्करणमा पुनः सेमिफाइनलसम्म पुग्यो । आहारारा प्रतियोगितामा दोस्रो पटक सेमिफाइनल पुगेको मच्छिन्द्रको फाइनल पुग्ने सपना भने विभागीय टिम एपीएफले रोक्यो । सेमिफाइनलमा मच्छिन्द्र ३–१ ले हारेको थियो । मच्छिन्द्रलाई हराउँदै फाइनल प्रवेश गरेको एपीएफ पछि पहिलो पटक सहाराकै उपाधि जित्न सफल रह्यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?