+
+

जसपा र एकीकृत समाजवादीबीच पार्टी एकताको बहस सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १७:२९

१९ पुस, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको विषयमा बहस सुरु भएको छ । जसपाको राजनीतिक समितिको बैठकमा यसबारे छलफल चलिरहेको छ ।

जसपाको राजनीतिक समितिको मंगलबारको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । बैठकमा सहभागी जसपा राजनीतिक समितिका सदस्य मनिकर कार्कीले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे छलफल जारी रहेको बताए ।

सोमबार एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि पत्रकारहरुसँग कुरा गर्दै जसपासँग पार्टी एकताबारे छलफल चलिरहेको संकेत गरेका थिए ।

माधव नेपालले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । उक्त पार्टी २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । तर थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न भने सकेन । उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।

यदि एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?