+
+
फिल्म सिटी बहस :

मदनदास श्रेष्ठ भन्छन्- दोलखा फिल्म सिटी हरेक किसिमले उपयुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १६:४९

काठमाडौं । पाका कलाकार मदनदास श्रेष्ठले नेपाली चलचित्रको लागि हरेक किसिमले दोलखा फिल्म सिटी उपयुक्त हुने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय अध्ययन अवलोकन गरेर त्यहाँ फिल्म सिटी बनाउन उपयुक्त मानिएको हो ।’

फिल्म सिटीलाई लिएर भइरहेका टिप्पणीबारे लक्षित गर्दै श्रेष्ठले दोलखाको विकल्प दिन समेत चुनौती दिए । ‘स्थानीय पर्यटन विकासका लागि म निरन्तर लागिरहेको र मेरो जन्मथलो भएकाले त्यहाँ फिल्म नगरी बनाउन म लागिपरेको छु,’ उनले भने ।

निर्देशक मनोज पण्डितसहितका केही फिल्मकर्मीले दोलखा फिल्म सिटी नेपाली चलचित्र क्षेत्रको लागि व्यावहारिक नहुने भन्दै त्यसलाई रोक्नुपर्ने धारणा व्यक्त गरेका थिए । साथै उनले दोलखामा आयोजित चलचित्र निर्देशक समाजको कार्याशाला सफल बनाउन मात्र ‘रणनीतिक कार्ड’को रुपमा फिल्म सिटीलाई अघि सारिएको तर्क पेस गरेका थिए ।

यसबारे टिप्पणी गर्दै अभिनेता श्रेष्ठले विरोधका लागि विरोध उचित नहुने बताए । ‘विरोध गर्नेले विकल्प दिन सक्नुपर्छ,’ उनले भने, ‘निर्देशक समाजको कार्यशाला सफल बनाउन मैले आर्थिक सहयोग पनि गरेको थिएँ । उहाँहरुले यो कुरा पनि बुझ्नुपर्छ ।’

फिल्म सिटी निर्माण कार्य भइरहेको भन्दै श्रेष्ठले १२ करोड ४५ लाख रुपैयाँमा सडक कालोपत्रे भएको बताए । तीनवटा प्रशासनिक भवन, होटल, बिजुलीको पोल, खानेपानीको धारा बनिसकेको उनले जनाए । सरकारी लगानी भइसकेकाले पार्कको रुपमा फिल्म सिटीको विकास गर्न सकिने श्रेष्ठले धारणा राखे ।

दोलखास्थित प्रस्तावित फिल्म सिटी निर्माणस्थल

फिल्म सिटी निर्माणको प्रक्रिया सुरु भएको ११ वर्ष बिते पनि ढिलासुस्ती भएको भन्दै कतिपय ठाउँबाट आवाज पनि उठेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको एक समूहले यसै साता फिल्म सिटी निर्माणस्थल पुगेर अध्ययन अवलोकन गरेको थियो । बोर्ड अध्यक्ष भुवन केसीले फिल्म सिटी स्थापना हुन सके नेपाली फिल्म क्षेत्रलाई खुसीको कुरा हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?