दोलखा फिल्म सिटीको पृष्ठभूमि कसरी जन्मियो भन्नेबारे सुरुमा चर्चा गरौं । पृष्ठभूमिले दोलखामा फिल्म सिटी कति व्यावहारिक हुन्छ या हुँदैन भन्ने कुराको विश्लेषण गर्छ । चलचित्र निर्देशक समाजले चितवनमा भव्य कार्यशाला गर्यो । भारतीय निर्देशक गोविन्द निहलानी लगायतलाई बोलाएर त्यहाँ कार्यक्रम गर्यौं । त्यसको एउटा जिम्मेवार व्यक्ति म पनि थिएँ ।
त्यो कार्यक्रम सफल भएपछि हामी हौसियौं । हामीले के सोच्यौं भने दोलखामा गरौं भनेर सोच्यौं । त्यो वर्कसपमा हामीले कोरियाली फिल्ममेकरलाई पनि बोलाउने भनेर कोरियाबाट पनि फिल्म निर्मातालाई बोलायौं । अब दोलखामा वर्कसप गर्नुपर्ने थियो र त्यसको एक जना संयोजक म पनि थिएँ ।
दोलखा जाँदा हामीले त्यहाँका वासिन्दालाई कन्भिन्स गर्नुपर्ने थियो । कन्भिन्स गर्ने प्रक्रियामा त्यहाँका सरोकारवालाको भाषणमा फालिएको रणनीतिक कार्ड मात्र थियो । सबैभन्दा रोचक पक्ष, त्यो बेलामा यस्तो कार्यक्रमले दोलखालाई चिनाउँछ पनि साथै त्यहाँ विशेष फिल्म सिटी पनि बनाउन सकिनेछ भनेर त्यो मिटिङमा भनेको कुरा मैले हो ।
कार्यशाला चलाउने रणनीतिक कार्ड मात्र
मेरो दृष्टिकोणबाट, त्यहाँको वर्कसप सफल बनाउन मलाई त्यहाँका सरोकारवालाको साथ चाहिएको थियो । स्टेकहोल्डरलाई साथ दिन चलचित्र निर्देशक समाजको टिमले बनाएको रणनीतिक कार्ड थियो । त्यो कार्ड हामीले त्यहाँ फाल्यौं । त्यसपछि स्थानीय बासिन्दा खुसी हुनुभयो । त्यो वर्कसपलाई भव्यतापूर्वक सम्पन्न गर्न हामीलाई साथ मिल्यो । कार्यक्रम अत्यन्त राम्रो भयो, त्यसले दोलखालाई चिनायो ।
कार्यशाला पनि सफल होस्, त्यसको प्रतिफलले दोलखालाई पनि चिनाओस् भन्ने थियो हाम्रो उद्देश्य । त्यो रणनीतिक कार्डलाई दोलखाका केही व्यक्तिले अगाडि बढाउनुभयो । धेरै वर्षअघिको कुरा थियो यो । त्यो रणनीतिक कार्डलाई कसरी अघि बढाइयो भने केही व्यक्तिको लागि कार्यक्रम जसरी अघि बढाइयो ।
त्यो चीज कति सही र व्यावहारिक थियो, त्यो चीजले फिल्म नेपाली फिल्मको छायांकनलाई कति सहज हुन्छ भन्ने हो । हामीलाई फिल्म छायांकनको लागि सुविधासम्पन्न इन्डोर फिल्म सिटी चाहियो । जहाँ हामीले आवश्यकताअनुसारको सेटअप सिर्जना गर्न सकियोस् । इन्डोर भ्यालु हामीलाई निकै आवश्यकता थियो । डीपीआर बनाउने भन्ने विभिन्न नाममा कामलाई अघि बढाइयो ।
तर तत्कालीन कार्यक्रम सम्पन्न गर्न राजनीतिज्ञले अघि सारेको एजेण्डाजस्तै मात्र थियो त्यो । यसतर्फ ध्यान दिइएन । आज आएर यो कुरा भन्नु किन महत्वपूर्ण छ भने कुनै अध्ययन, अनुसन्धान नगरिकन, तत्कालीन आवश्यकता पूर्ति गर्न भनिएको एउटा आश्वासन र अवधारणा मात्र थियो । त्यसको पृष्ठभूमिमै अध्ययन गरिएको थिएन । त्यो कति व्यावहारिक हो भन्ने कुराको सोच थिएन ।
सहजताको हिसाबमा व्यावहारिक छैन
हाम्रो फिल्म निर्माण प्रणालीमा हामीलाई सहजताको आवश्यकता छ । सहजता भनेको हामीले कुनै पनि पात्रसँग सम्बन्धित पात्रको निर्माणमा आवश्यक जुन विश्व र सेटिङ हो, हामीले अहिले कुनै पनि पात्रको सेटिङ निर्माण गर्न सक्दैनौं । विशेषतः पात्रको इन्टेरियर सेटिङ स्थापित गर्नै सक्दैनौं । भूगोलको कारणले हामीलाई बाह्य सेटिङको त समस्या छैन, तर आन्तरिक सेटिङ स्थापना गर्न नसक्ने कुरामा हामी लामो समयदेखि संघर्ष गरिरहेका छौं ।
जब हामीलाई आन्तरिक सेटिङ गर्नुपर्ने भयो कि नाममा जानुपर्ने परिस्थिति छ । हीनताबोध व्यापक छ । फिल्म छायांकनलाई चाहिने आन्तरिक सेटिङको जुन अभाव छ, त्यसलाई फिल्म सिटीले उपलब्ध गराउन सक्नुपर्छ । फिल्म सिटी एउटा स्टुडियो मात्र होइन, त्यहाँ सबै स्रोत उपलब्ध भएको सेटिङ निर्माण गर्न सक्ने, पृष्ठभूमि, आन्तरिक भौगोलिकता निर्माण गर्न सकिने साधनयुक्त संरचना चाहिएको हो ।
जुन कुरा चलचित्र निर्माण गर्ने प्रणालीको हिस्सा हो । वास्तवमा भन्ने हो भन्ने काठमाडौं फिल्म निर्माणको एउटा ठूलो हब हो । त्यसैले काठमाडौंबाट नजिक पर्ने ठाउँ आवश्यक पर्ने हो । दोलखा टाढा छ र सहजता कम हुन्छ भन्ने कुरालाई चाहिं चलचित्र विकास बोर्डले पुनर्विचार र प्रश्न गर्ने कामै गरेको छैन । अवधारणा त जे ल्याए पनि भयो तर त्यसले फिल्म निर्माणको पक्षलाई कति सहजता उपलब्ध गराउँछ भन्ने कुरामा बहस भएको छैन ।
मलाई अचम्म लागेको कुरा के हो भने त्यो कार्ड कुनैबेलामा फालियो, विशेषगरी दुई जनाको रुचिमा यसलाई अघि बढाइयो । अहिलेसम्म यसको वैचारिक पक्ष, आवश्यकता र उपलब्धिको हिसाबमा चलचित्र क्षेत्रसँग बहस भएन । राज्यले कुनै परियोजना लाद्ने होइन । हरेक परियोजना सम्बन्धी क्षेत्रसँग सहज हुन्छ कि हुँदैन र प्रतिफल दिन्छ कि दिंदैन भनेर छलफल गरेर निष्कर्षमा जान समस्या समाधानलाई अघि बढाउने हो । तर यो पाटोमा चलचित्र विकास बोर्डले कहिल्यै पनि कुरा गरेन ।
एउटा आउँछ त्यहाँ गर्ने भन्छ । त्यहाँ अलिकति पैसा पनि खर्च भइसकेको छ । अर्को आउँछ, र अर्को कार्ड फाल्छ । राज्यको निकायमा मान्छे आउने बित्तिकै फिल्म सिटीको एउटा कार्ड खेलिन्छ । धेरै वर्ष भयो । हामीले अपरिपक्वको अवस्थादेखि फिल्मको परिपक्व अवस्थामा छौं । अबको यो प्रक्रियामा चलचित्र क्षेत्रले विश्लेषण गरेर मात्रै अघि बढ्नुपर्छ भन्ने हो ।
राज्यले छलफल नै चलाएको छैन
चलचित्र निर्देशक समाजमार्फत हामीले जुन कार्ड खेलेका थियौं, अहिले आएर त्यो सोच्दा मलाई हीनताबोध हुन्छ । किनभने हामीले स्वार्थका लागि एउटा अवधारणा राख्यौं जुन कुरा गलत थियो र हो ।
निर्माणपछि त्यसले आफ्नो क्रियाशीलताको उच्चतम उपलब्धि दिन्छ कि दिंदैन भन्ने कुरामा चाहिं भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हेरे पुग्छ । छिमेकीले नयाँ विमानस्थलको लागि रुट पर्मिट नदिएर समस्या भएको थियो । त्यस्तै योजना बन्ने, ऋण लिएर काम अघि बढाउने तर योजना प्रभावकारी नहुने अवस्था बन्छ । राज्यले यदि फिल्म सिटी जबर्जस्ती बनायो भने पनि केही वर्षपछि त्यो बेकारमा जाने अवस्था हुन्छ ।
छायांकनको लागि यति धेरै संशाधनको आवश्यकता पर्छ, त्यसलाई दोलखाको फिल्म सिटीले सहज ढंगले उपलब्ध गराउन सक्दैन । त्यसैले मेरो स्पष्ट दृष्टिकोण के हो भने त्यो सोचको स्रोतमै व्यावहारिक र प्रभावकारिता थिएन । त्यही अवस्था र स्तरमा अघि बढ्नु भनेको त हामी कति धेरै कमजोर धरातलमा काम गर्छौं भन्ने हो । प्रतीकको रुपमा मैले भैरहवा र पोखरा विमानस्थलको सन्दर्भ ल्याएको हो ।
हामीलाई कस्तो खालको फिल्म सिटी चाहिने हो भन्ने बारेमा बहस गर्नुपर्छ । कहाँ बनाउने भन्ने विषयमै चलचित्रका सबै सरोकार निकायसँग बसेर विकास बोर्डले छलफल गर्नुपर्छ । राज्यले यसमा छलफल चलाएपछि प्रक्रिया अघि बढाउने हो । अहिलेको फिल्म हब काठमाडौं हो र त्यसलाई सहज हुने किसिमले काम गर्नुपर्छ । यो कुनै व्यक्तिको स्वार्थ र कार्यक्रमको लागि गरेर हुँदैन ।
दोलखालाई हामीले भूलभुलैयामा राखेका छौं । स्थानीय बासिन्दाले फिल्म सिटीबाट कसरी फाइदा लिन्छन् भन्ने कुराको पनि टुंगो छैन । मुख्य कुरा त चलचित्र क्षेत्रले कसरी फाइदा लिन सक्छ भन्ने हो । दोलखासँग गरिएको आश्वासन थियो र त्यो केही व्यक्तिको स्वार्थमा प्रयोग भयो । त्यो स्वार्थपूर्ति गर्न देशले ठूलो स्रोतसाधन र अपेक्षालाई बलि नदिऔं भन्ने हो ।
(फिल्म निर्देशक पण्डित दोलखा फिल्म सिटीको अवधारणा अघि सार्ने व्यक्तिमध्ये एक हुन् ।)
प्रतिक्रिया 4