+
+

लुम्बिनीमा गठबन्धन भत्काउन कांग्रेसको कसरत

जसपा प्रदेश अध्यक्ष भन्छन्– कांग्रेसबाट नयाँ गठबन्धन बनाउने प्रस्ताव आयो

टोपराज शर्मा टोपराज शर्मा
२०७९ पुष २० गते १२:०२
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापछि अमरसिंह पुन । फोटो : फेसबुक

२० पुस, बुटवल । लुम्बिनी प्रदेशमा केन्द्रको सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने कसरतमा नेपाली कांग्रेस लागेको छ ।

संघीय सरकारको प्रधानमन्त्रीमा  माओवादी केन्द्र र एमाले सहितको गठबन्धनलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीलाई गठबन्धनबाट अलग्याउन नेपाली कांग्रेसले आन्तरिक गृहकार्य गरिरहेको हो । जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले कांग्रेसले नयाँ गठबन्धन बनाएर सरकार चलाउने प्रस्ताव र छलफल गरेको स्वीकार गरे ।

सत्ता गठबन्धनमा रहेका ६ दलमा ५२ जना सांसद रहेका छन् । यदि जसपा, जनमत र नागरिक उन्मुक्तिले नयाँ गठबन्धन रोजेको खण्डमा गठबन्धनलाई वहुमतका लागि २ सिट अपुग हुन्छ । तर स्वतन्त्र ३ सांसदको समर्थन पाएको खण्डमा भने ४५ सांसद सहित बहुमत पुग्छ ।

जनमत पार्टी लुम्बिनी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री गगन थापासहितका नेताहरु २ दिनसम्म रुपन्देहीमा बसेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन बहुमत जुटाउने प्रयास गरेको दावी गरे । ‘निवर्तमान गृहमन्त्री र गगन थापाहरु आएर केन्द्रको गठबन्धन भत्काउन २ दिनसम्म ठूलै कसरत गरे,’ गुप्ताले भने, ‘अर्को गठबन्धन गरेर सरकार बनाऔं भन्ने प्रस्ताव आएको थियो, छलफल पनि भइरहेको छ ।’ तर केन्द्रको गठबन्धन नतोड्ने उनले बताए ।

जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोक यादवले पनि नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले टेलिफोन गरेर नयाँ गठबन्धन बनाएर जाऔं भन्ने प्रस्ताव गरेको बताए । ‘कांग्रेस प्रदेश सभापतिले फोन गरेर गठबन्धन सरकार बनाएर जाऔं भन्नुभयो’ यादवले भने, ‘मैले छलफल गरौंला भनेको हो तर पार्टी केन्द्रको निर्णय भन्दा बाहिर हामी जाँदैनौं ।’

नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता डिल्ली चौधरीले भने आफूहरुले बहुमत पुर्याउने सम्भावना नदेखेकाले गठबन्धन बनाउन पहल नगरेको बताए ।

लुम्बिनीमा नेकपा एमालेले २९, नेपाली कांग्रेसले २७, माओवादी केन्द्रले ९, नागरिक उन्मुक्ति र राप्रपाले ४–४ सिट जितेका छन् । जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमतले ३–३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट तथा माओवादी केन्द्रका बागी (स्वतन्त्र) ले ३ सिट जितेका छन् । यद्यपि रोल्पा १ (२)बाट विजयी दीपेन्द्र कुमार पुनमगर भने पुनः माओवादी केन्द्रमै फर्किसकेका छन् ।

मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

यहाँ केन्द्रको सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दावी गरेका छन् । दुई दलबीच कसले नेतृत्व लिने सहमति अझै भइसकेको छैन ।

एमालेबाट संसदीय दलको नेता लीला गिरी चयन भएका छन् भने माओवादी केन्द्रको संसदीय दलको नेतामा स्थायी समिति सदस्य जोखबहादुर महरा चयन भएका छन् ।

प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव भएर काम गरेका र पार्टीको सिनियर नेता भएकाले महरालाई माओवादीले मुख्यमन्त्री बनाउन खोजेको छ ।

साना दलहरुले राम्रा मन्त्रालयमा दावी र सबै सांसदलाई मन्त्रीको माग गरेर सरकार गठनमा बार्गेनिङ गरिरहेको एमाले र माओवादीका नेताहरु बताउँछन् । ‘मुख्य दलहरु कसैको बहुमत नआउँदा साना दलहरुले  अनुचित माग गर्दै हलो अड्काउने कोसिस गरिरहेका छन्,’ नेकपा एमाले संसदीय दलका एक नेताले भने ।

नेपाली कांग्रेसले साना दलभित्रको असन्तुष्टिमा खेलेर गठबन्धन भत्काउने कसरत गरे पनि सफल नहुने माओवादी केन्द्रका सांसद तुलाराम घर्ती (बसन्त) बताउँछन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?