+
+

क्यान अध्यक्षको घोषणा : नियतमै खोट रहेछ, सेभेन थ्रीसँग सम्झौता रद्द गर्छौं

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ पुष २० गते १६:४४
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द ।

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ध गर्ने बताएका छन् ।

प्रतियोगिताका दौरान जिम्मेबार व्यक्ति भागेर भारत पुगेको र अनेक बहानाबाजी गरेकामा आक्रोशित देखिएका अध्यक्ष चन्दले बुधबार अनलाइनखबरसँगको कुराकानीमा सम्झौता खारेज गर्न कानूनी प्रक्रिया सुरु गर्ने बताएका हुन् ।

‘हामीसँग बैंकिङ कारोबारका लागि भारत जान्छु भनेको हो, अब आउँदैन होला । भागेर गएपछि अनेक दोष लगाइरहेको सुनेको छु’, नेपाल टी–२० लिग सञ्चालन सम्झौताबारे उनले भने, ‘अर्को पक्ष भागिसकेपछि सम्झौता त रद्ध भइहाल्छ । नियतमै खोट रहेछ यसमा केही सोच्नुपर्दैन ।’

सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया सोमबार भारत गएका थिए । भारतबाट सुरक्षा चुनौतीका कारण नेपाल बस्न नसकेको भन्दै बहानाबाजी गरेको चन्दको आरोप छ । ‘उनले एम्बेसीमा पनि उजुरी गरेका रहेछन् । एम्बेसीले फोन गरेको थियो । तर, हामीले के भन्यौं भने उनको सुरक्षाको सम्पूर्ण जिम्मा हामीले लिन्थ्यौं । प्रहरीलाई खबर गर्न सक्थे । उनको यो सबै भाग्ने बहानाबाजी मात्र हो’ चन्दले भने ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारणसभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको थियो । ८ वर्षका लागि व्यापारिक र रणनीतिक साझेदार बनेबापत उसले कुल ३३ करोड रुपैयाँ क्यानलाई बुझाउनुपर्ने थियो ।

पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा १ करोड २० लाख दिइसकेको अध्यक्ष चन्दले बताए । बाँकी रकम जसरी पनि ल्याइने उनको दावी छ । ‘हामीले अन्तिम नोटिस पठाएर त्यो कम्पनीविरुद्ध कानूनी कारबाही सुरु गर्नेछौं । उसका विरुद्धमा मुद्दा चल्छ । एम्बेसीमा उसका विरुद्धमा यसअघि नै उजुरी परेको छ । हामीले उसलाई आईसीसी, एसीसीमा कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्नेछौं’, चन्दले भने ।

फिक्सिङलाई बहाना बनाएर त्रिवि मैदानमा जारी नेपाल टी–२० लिग रोक्ने र १५ दिनपछि दुवईमा आयोजना गर्ने जतिनको प्रस्ताव आफूहरुले अस्वीकार गरेकोसमेत अध्यक्ष चन्दले बताए । ‘उसले भाग्नका लागि अनेक बहाना बनाउन लाग्यो ।

प्रतियोगितालाई बाहिरबाट आक्रमण हुन थालेको छ, स्पोर्टस काउन्सिल र मिडियाले पनि तनाव दिइरहेका छन् । प्रतियोगिता १५ दिन रोकेर दुबईमा लगेर खेलाऔं भनेको थियो’, चन्दले भने, ‘हामीले तत्कालै उसलाई झपारेका थियौं । सरकारले अनुमति दियो भने दोस्रो संस्करण दुबईमा लगौंला भनेका थियौं ।’

उनले जारी प्रतियोगिता जसरी पनि सम्पन्न गर्ने बताए । फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकका लागि तयार रहेको र प्रतियोगितामा क्यानको शुल्क बुझाउनुबाहेक सेभेन थ्री स्पोर्टसको भूमिका सकिएकाले प्रतियोगिता नरोकिने उनको दावी छ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?