+
+

नेपाल टी-२० लिगबारे सीआईबीले थाल्यो अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १७:११

२० पुस, काठमाडौं । नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो । त्यही आधारमा छानबिन थालिएको सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।

प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस विषयमा विवरणहरु सार्वजनिक भएसँगै सीआईबीले यसमा चासो देखाएको थियो । गृह र प्रहरी प्रधान कार्यालयबाट पत्राचार नै भएपछि छुट्टै टोली गठन गरेर अनुसन्धान सुरु भएको छ ।

काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको बताएका थिए । प्रतियोगिताका कमेन्टेटटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।

तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुले बाहिर सार्वजनिकरुपमा बोल्ने खेलाडी र अफिसियलहरुबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् ।

सीआईबीले औपचारिकरुपमा अनुसन्धान सुरु गरेकै दिन नेपाल क्रिकेट संघ (क्यान) ले पनि जारी खेलमा म्याच फिक्सिङ भएको आरोप गलत रहेको दाबी गर्दै वक्तव्य जारी गरेको छ । क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी यस्ता मिथ्या र भ्रामक सूचना नफैलाउन पनि भनेको छ ।

जारी खेलमा बेटिङसमेत भइरहेको छ । अनलाइन बेटिङका लागि चर्चित एप वानएक्सवेटले यसमा सट्टेबाजी गराइरहेको छ । सट्टेबाजीमा संलग्न कम्तिमा ४० जनालाई सीआईबीले पक्राउ गरिसकेको छ ।

‘पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएका छौं’, ब्यूरोका प्रमुख सुवेदी भन्छन्, ‘बेटिङ र फिक्सिङको सन्दर्भ बेग्लाबेग्लै भएकाले छुट्टाछुट्टै अनुसन्धान जारी छ ।’

प्रतियोगितामा विदेशी खेलाडीलाई श्रम स्वीकृतिबिना खेलाइएको आरोप पनि लागेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ पुसदेखि सुरु भएको खेल २७ पुससम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?