+
+

कांग्रेसको दाउ : मधेश, बाग्मती र सुदूरपश्चिममा एमाले–माओवादी इतरको सरकार

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश, बागमती र सुदूरपश्चिमममा एमाले-माओवादी इतरको सरकार निर्माणका लागि जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग छलफल अघि बढाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १९:३६

२१ पुस, काठमाडौं । सत्ता गुमेपछि धुम्बाराहीस्थित भाडाको घरमा चुपचाप बसिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई भेटेका छन् ।

बुधबार साँझसम्म सत्ता साझेदार दलहरुको बैठकमा सहभागी यादव बिहीबार विहान १० बजेपछि देउवा निवास पुगेका थिए । चुनावअघि कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेका यादव १० पुसमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा साथ दिन पुगेका थिए ।

तर मंगलबार सकिएको पार्टीको राजनीतिक समितिको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम र शक्ति बाँडफाँटका आधारमा सरकारमा जाने वा नजाने तय गर्ने निर्णय गरेको छ ।

न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा रकम चेम्जोङ जाने गरेका छन् भने शीर्ष नेताहरुको बैठकमा अध्यक्ष यादव आफैं उपस्थित हुने गरेका छन् । तर संविधान संशोधन लगायतका मुद्दा र सम्मानजनक शक्ति बाँडफाँट भए मात्र सरकारमा जाने नेताहरु बताउँछन् ।

जसपाको अलमललाई बुझेका देउवाले बिहीबार अध्यक्ष यादवसँग भेट गरेका हुन् । कांग्रेस नेताहरुका अनुसार यो भेटमा केन्द्रसँगै प्रदेशका सरकारबारे छलफल भएको छ । ‘सत्तारुढ दलहरुले समर्थन जुटाउन खोज्नु र विपक्षीले नपुगोस् भनेर प्रयास गर्नु स्वभाविक हो’, कांग्रेसका एक नेता भन्छन्, ‘उहाँ (उपेन्द्र यादव) सँग पनि यही विषयमा कुराकानी भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ । हाल सरकारमा सहभागी एमाले (७९), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र जनमत पार्टी (६) गरी १३७ मत सुरक्षित देखिन्छ । प्रधनमन्त्रीमा दाबी पेश गर्दा साथ दिएका स्वतन्त्र सांसदद्वय अमरेशकुमार सिंह र प्रभु साहले मात्र मत दिए पनि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रमाणित गर्न आवश्यक १३८ सांसदको समर्थन पाउने छन् ।

साथै राप्रपा (१४) र नागरिक उन्मुक्ति पार्टी (४) ले पनि विश्वासको मत दिने सम्भावना छ । १० सांसद भएको एकीकृत समाजवादीले भने २६ गते मात्र निर्णय गर्ने बताएको छ । त्यसैले जसपा र कांग्रेस एक ठाउँमा उभिँदा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने प्रष्ट देखिन्छ ।

कांग्रेस नेताहरुका अनुसार जसपाको साथ संघीय सरकारका लागि मात्र खोजिएको होइन । मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादी इतरको सरकार बनाउन कांग्रेसले प्रयास गरिरहेको छ ।

मधेश प्रदेशको दोस्रो ठूलो दल कांग्रेससँग २२ प्रदेशसभा सदस्य छन् । जसपासँग १६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग ९ प्रदेशसभा सदस्य छन् । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।

जसपाले साथ दिएको अवस्थामा जनमत पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर सरकार बनाउन कांग्रेसले कसरत थालेको छ । सरकार गठनका लागि कांग्रेसले प्रयास गरिहेको स्वीकार गर्दै संसदीय दलका नेता कृष्ण यादव अनलाइनखबरसँग भन्छन्, ‘एक घण्टामा सबथोक परिर्वतन हुनसक्छ भने यहाँ केन्द्रमा भन्दा फरक गठबन्धन नबन्ला भन्न सकिन्न ।’

बाग्मती प्रदेशमा भने राप्रपाको साथ लिएर सरकार बनाउने कांग्रेस नेताहरुको प्रयास छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई पुस २५ गते अपराह्न ४ बजेसम्म दिएका छन् ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ प्रदेशसभा सदस्य चाहिन्छ । सबभन्दा ठूलो दल कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन् भने एमाले (२७) र माओवादी केन्द्रका (२१) सँग ४८ प्रदेशसभा सदस्य छन् । १४ प्रदेशसभा सदस्य भएको राप्रपाले जसलाई साथ दिन्छ, उसकै सरकार बन्ने अवस्था छ ।

एमाले र माओवादीले केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रदेशको शक्ति बाँडफाँटबारे छलफल गर्न चाहेका थिए । तर २५ गतेभित्र दाबी पेश गर्नुपर्ने भएपछि उनीहरु अफ्ठ्यारोमा परेका छन् । यही बेला कांग्रेस नेताहरुले राप्रपा नेताहरुलाई मुख्यमन्त्री दिन तयार रहेको सन्देश दिएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना भन्छन्, ‘कुराकानी भइरहेको छ, सरकारको नेतृत्वबारे खुला छौं भन्ने पनि भनेका छौं ।’

राप्रपाले एमाले–माओवादीसहितको गठबन्धनमा पनि बागमती प्रदेशमा आफूहरुलाई मुख्यमन्त्री दिनुपर्ने माग गरेको छ । प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पहिलो पालोमा आफूहरुलाई सरकारको नेतृत्व दिन माग गरेको बताए । सरकार गठनका लागि कांग्रेसले पनि प्रस्ताव गरिरहेको भन्दै उनी भन्छन्, ‘राजनीतिमा असम्भव भन्ने केही छैन ।’

कांग्रेसले एमाले–माओवादी इतर सरकार बनाउने प्रयास गरिरहेको अर्को प्रदेश हो, सुदूरपश्चिम ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । सबभन्दा ठूलो दल कांग्रेसँग १९ प्रदेशसभा सदस्य छन् भने एमाले (१०) र माओवादी केन्द्र (११) सँग पनि २१ जना मात्र छन् । ७ प्रदेशसभा सदस्य भएको नागरिक उन्मुक्ति पार्टीले जसलाई समर्थन गर्छ, उसले सरकार बनाउने सम्भावना छ । यहाँ नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री दाबी गरिरहेको छ ।

मुख्यमन्त्री बनाउने गरी प्रदेश इन्चार्ज खगराज भट्टलाई प्रदेशसभामा पठाएको माओवादी केन्द्र प्रदेश सरकारको नेतृत्व छाड्ने पक्षमा छैन भने एमालेको पनि दाबी कायमै छ । त्यसलाई बुझेका कांग्रेस नेताहरुले नागरिक उन्मुक्तिका नेताहरुसँग मुख्यमन्त्रीबारे छलफल गर्न सकिने सन्देश दिएका छन् ।

कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सरकार गठनका लागि प्रयास भइरहे पनि केही भनिहाल्ने अवस्था नभएको बताएका छन् । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीका केही नेता सरकार बन्ने विश्वासका साथ प्रयासरत छन् । भन्छन्, ‘राष्ट्रिय राजनीतिसँग जोडिएका मुद्धाहरुका कारण एमाले–माओवादीतिरै जाने सम्भावना देख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?