+
+

ओलीले प्रचण्डलाई धोका दिन्छन् : कांग्रेस नेता उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १७:२६

२३ पुस, बुटवल । नेपाली कांग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदुत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिने बताएका छन् ।

शनिबार बुटवलमा पत्रकारहरुसंग बोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख पाउन प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि विश्वासको मत दिएपछि साथ छोड्ने दावी गरे । ‘राष्ट्रपति र सभामुख पाउन ओलीजीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएको हो’, उपाध्यायले भने, ‘अब एमालेले विश्वासको मत पनि दिन्छ तर आफ्नो स्वार्थ पूरा भएपछि प्रचण्डलाई धोका दिन्छ ।’

उपाध्यायले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा शंका समेत व्यक्त गरे । दलहरुभित्र भागवण्डा, गुटबन्दी र नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले विरक्त भएर आफू सक्रिय राजनीतिबाट बिश्राम लिएको समेत उनले बताए ।

नेता उपाध्यायले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीति भन्दा सत्ता स्वार्थ हावी भएको टिप्पणी गरे ।

उनले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्ने रहेपनि विदेशी शक्तिहरुको स्वार्थ र प्रभावमा धर्मनिरपेक्षता र संघीयता स्थापित गरेर देशमा अस्थिरता ल्याउने काम गरेको बताए । उनले राजनीतिक दलहरुको दूरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेकाले राष्ट्रियता संकटमा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?