+
+

देशभरका स्थानीय तह प्रमुखलाई डडेल्धुराको परशुरामधाममा निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ८:३७

२५ पुस, काठमाडौं । माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन देशभरका स्थानीय तहका प्रमुखलाई निम्तो दिइएको छ ।

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई निमन्त्रणा गरेका हुन् ।

मकर संक्रान्ति पर्व परशुराम नगरपालिका वडा नं. ५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।

मेयर जोशीले सबै स्थानीय तहका प्रमुखलाई निमन्त्रणा पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गरेकाहुन् । ‘यस पर्व मनाउन सहभागी भइदिनहुनुका साथै यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनहुन परशुराम नगरपालिकाकातर्फबाट हार्दिक निमन्त्रणा गर्दछु,’ पत्रमा लेखिएको छ ।

नेपालभारतको सीमामा रहेको श्यामा (महाकाली) र ऐला (रंगुन) नदीको संगममा अवस्थित भृगुवंशी महर्षि जमदग्नी र रेणु पुत्रका भगवान परशुरामले तपस्या गरेको स्कन्द पुराणमा उल्लेख छ ।

स्कन्द पुराणका अनुसार परशुरामधाममा स्नानको ठूलो महत्व हुन्छ । महाकाली नदीमा स्नान गर्दा गंगा स्नानको समान पूण्य प्राप्त हुने पौरााणिक मान्यता रहेको र माघ स्नानको ठूलो महत्व छ ।

‘स्कन्द पुराणका अनुसार तीनै लोकमा अति नै पवित्र मानिएको धार्मिक स्थल परशुरामधाममा स्वागत गर्न तत्पर छु,’ मेयर जोशीले भने ।

माघेसंक्रान्तिको तयारी तीव्र

परशुरामधाममा माघेसंक्रान्तिको तयारी तीव्र बनाइएको छ । माघ १ गते मनाइने पर्वका लागि तयारी तीव्र बनाइएको हो ।

माघेसंक्रान्तिका दिन परशुरामधाममा ठूलो संख्यामा भक्तालुको उपस्थिति हुने गरेको छ ।

परशुराम नगरपालिकाका मेयर जोशीले नगरपालिका, स्थानीयवासी र सुरक्षाकर्मीहरुको सहयोगमा पर्व हुने स्थानको सरसफाइलगायतका कामहरु भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?