+
+

एनभीए क्लब च्याम्पियनसिप : पुरुषतर्फ आर्मी क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १७:५७

२५ पुस, काठमाडौं । सातौं एनभीए पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

३ टोली रहेको समूह ए बाट लगातार दुई दिनसहित समूह विजेताका रुपमा आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताको पहिलो दिन आइतबार दवाली मिलन क्लबलाई पराजित गरेको आर्मीले सोमबार मणिमुकुन्द भलिबल स्पोर्टस क्लबलाई सोझो सेटमा हरायो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दमाथि २५-११, २५-२० र २५-१४ को सेटमा जित निकाल्ने क्रममा धनबहादुर भट्टले उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

यसअघि भएको अर्को खेलमा समूह डी मा रहेको हेल्प नेपाल स्पोर्टस क्लबले बुढानीलकण्ठ भलिबल स्पोर्टस क्लबलाई पराजित गर्दै सुखद सुरुवात गरेको हो । हेल्प नेपालले २५-१६, २५-१९ र २५-१९ को सहज सेटमा खेल जितेको हो ।

समूह डी कै अर्को खेलमा केशवलााल स्मृति भलिबल ट्रेनिङ सेन्टरले मधेश प्रदेशमाथि ३-० को सोझो सेटमा जित निकालेको थियो । केशवलाल स्मृति क्लबले २५-२१, २५-२३ र २५-१७ को सेटमा जित हासिल गरेको हो ।

प्रतियोगितामा पुरुषतर्फ १५ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए र बी मा ३-३ तथा समूह सी र डी मा ४-४ टिम छन् । चारै समूहका शीर्ष दुई टिमले क्वाटरफाइनल खेल्नेछन् ।

महिलातर्फ पुलिसको लगातार दोस्रो जित

प्रतियोगिताको पहिलो दिन आइतबार नयाँबजार सामाजिक युवा क्लबमाथि सहज जित निकालेको पुलिसले एभरेष्ट भलिबल क्लबमाथि पनि ३-० को सोझो सेटमा जित हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले एभरेष्टमाथि २५-१४, २५-९ र २५-६ को सहज सेटमा जित हासिल गरेको हो । पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।

महिलातर्फ समूह ए अन्तर्गतकै अर्को खेलमा न्यू डायमण्ड क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । सामाजिक युवा क्लबमाथि न्युडायमण्डले २५-२, २५-८ र २५-६ को सेटमा जित निकालेको हो ।

यो समूहमा लगातार दुई जितसहित पुलिस शीर्ष स्थानमा छ । न्यु डायमण्ड दोस्रो स्थानमा रहँदा एभरेष्ट र नयाँबजारले खाता खोल्न सकेका छैनन् । लगातार दोस्रो हारपछि नयाँबजारको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?