+
+

सुदूरपश्चिममा सभामुखको मनोनयन आज, उम्मेदवारको टुंगो छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ८:४६

२७ पुस, धनगढी । सुदूरपश्चिममा आज बुधबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ ।

प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार बुधबार बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ ।

निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा जुटेका छन् । एमाले नेतृत्वको गठबन्धनमा भागबन्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदबारको विषयमा टुंगो नलागेको जनाएको छ ।

संसदीय दलका नेता खगराज भट्टले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने कुराको टुंगो लागिनसकेको बताउँदै आफूहरु छलफलमै रहेको जानकारी दिए ।

अहिले काठमाडौंबाट फर्किरहेको बताउँदै भट्टले धनगढी पुगेपछि दलको बैठक बसेर उक्त कुरा टुंग्याउने बताए ।

माओवादीमा प्रदेश सभा सदस्य अक्कल रावललाई सभामुखको उम्मेदवार बनाउने तयारी रहेको स्रोतको भनाइ छ तर रावल स्वयंले भने सभामुखमा इच्छा देखाएका छैनन् । उनी मन्त्रिपरिषदमा सहभागी हुने पक्षमा छन् ।

नेपाली कांग्रेसले पनि प्रदेश सरकार गठन र सभामुखको उम्मेदवार मनोनयनका सम्बन्धमा छलफल गर्न दलको बैठक बोलाएको छ ।

संसदीय दलका नेता कमल शाहले बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा प्रदेश सरकार गठनलगायतका विषयमा छलफल हुने प्रदेश सभा सदस्य मेघराज खड्काले जानकारी दिए ।

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आजै साँझ ५ बजे सकिंदैछ भने सभामुखको निर्वाचन भोलि दिउँसो १ बजे हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?