+
+

श्रीलंकामाथि भारतको जितमा कोहलीको शतक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ८:३१

२७ पुस, काठमाडौं । विराट कोहलीले करिअरको ७३औं शतक बनाएपछि श्रीलंकासँगको एकदिवशीय शृंखलाअन्तर्गत पहिलो खेलमा भारतले ६७ रनको विजय हासिल गरेको छ ।

गुवाहाटीमा भएको खेलमा कोहली ५२ र ८१ रनको स्कोरमा आउट हुनबाट मुस्किलले जोगिएका थिए । उनले ८७ बलमा ११३ रनको योगदान गरे । एकदिवशीय अन्तर्राष्ट्रियमा उनले लगातार दोस्रो शतक बनाएका हुन् ।

टस हारेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ३७३ रनको योगफल खडा गरेको थियो । ओपनरहरु कप्तान रोहित शर्मा र शुभमन गिलले १४३ रनको साझेदारी गर्दै भारतलाई बलियो सुरुवात दिएका थिए । रोहितले ८३ र शुभमनले ७० रन बनाए ।

जवाफमा कप्तान दुसान शानाकाले अविजित १०८ रनको शतकीय पारी खेले पनि श्रीलंकाले ८ विकेटको क्षतिमा ३०६ रनमात्र बनाउन सक्यो ।

कोहलीले एकदिवशीय अन्तर्राष्ट्रियमा ४५औं शतक बनाएका हुन् । त्यो भनेको भारतका महान क्रिकेटर सचिन तेन्दुलकरको भन्दा ४ कम हो ।

३४ वर्षीय पूर्व कप्तान कोहलीले डिसेम्बरमा पछिल्लो एकदिवशीयमा बंगलादेशविरुद्ध ११३ रनको शतकीय पारी खेलेका थिए ।

ठूलो लक्ष्य पछ्याएको श्रीलंकाले कहिल्यै पनि चुनौति पेश गर्न सकेन । ३८औं ओभरमा २०६–८ को स्थितिमा पुर्याउन भारतका तीव्र बलर उमरान मलिकले ३ विकेट लिए । कप्तान शानाकाको दोस्रो एकदिवशीय शतकले पनि श्रीलंकालाई हारबाट जोगाउन सकेन ।

अन्तिम ओभरमा शानाका ९८ रनको स्कोरमा थिए । श्रीलंकालाई अन्तिम तीन बलमा ८३ रनको आवश्यकता थियो । श्रीलंकाका कप्तानलाई मोहम्मद सामीले बल फाल्नुभन्दा अगावै नन स्ट्राइकर एण्ड छाडेकोमा रनआउट गरिदिए । तर, भारतीय कप्तान रोहित शर्माले आफ्नो अपील फिर्ता लिए ।

त्यसपछि शानाकाले लगातार दुई बलमा चौका प्रहार गरे र आफ्नो शतक पूरा गरे ।

‘हामीले उनलाई त्यसरी आउट गर्न हुँदैनथ्यो,’ खेलपछि रोहितले भने, ‘हामी उनलाई आउट गर्न चाहन्थ्यौं । हामीले सोचेका पनि थियौं । यद्यपी उनलाई सलाम । उनले वास्तवमै राम्रो खेले ।

दोस्रो एकदिवशीय खेल विहीबार कोलकाताको इडेन गार्डेनमा हुनेछ । यसअघि भारतले तीन खेलको टी–२० शृंखला २–१ ले जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?