+
+

हेलमेटको प्रयोगले कपाल झर्न सक्छ, कसरी सुरक्षित राख्ने ?

जुनु चक्रदर जुनु चक्रदर
२०७९ पुष २८ गते १८:५४

कपालको सन्दर्भमा महिलाहरु बढी सचेत हुन्छन्, संवेदनसिल पनि । कपाल पातलो भएमा, झरेमा के गर्ने ? पुरुषका लागि यसका थुप्रै विकल्प भएपनि महिलालाई त्यस्तो सहज सुविधा उपलब्ध छैन । त्यसैले आफ्नो प्राकृतिक कपाललाई जोगाउनैपर्ने चुनौती हुन्छ, उनीहरुसँग ।

जबकि अहिले थुप्रै महिला स्कुटर-मोटरसाइकल प्रयोग गर्छन् । यसका लागि हेलमेट अनिवार्य हुने नै भयो । हेलमेट लगाइरहँदा कपाल झर्ने, टुक्रिने समस्या बढी नै देखिन्छ । यस्तो स्थितीमा के गर्ने त ? हेलमेट प्रयोग गर्दा कसरी कपाललाई जोगाउने त ?

घरबाट निस्किंदा एक खालको हेयरस्टाइल बनाएर गयो, पछि सबै बिग्रिएको हुन्छ । लामो समयसम्म हेल्मेट लगाउनाले पहिलेदेखि नै रहेको कपालको समस्यालाई बढाउँछ ।  दिनहुँ लामो समयसम्म हेल्मेट लगाउनाले टाउकोमा अत्यधिक पसिना आउँछ, जुन राम्ररी सुक्न पाउँदैन र गुम्सिन्छ । जसकारण कपालमा चाया पर्ने, टाउको चिलाउने  र छिट्टै फोहोर हुने जस्ता समस्या देखिन्छन् । हेल्मेटले कपाल सुख्खा हुने, कपाल बीचबाट टुक्रिने, झर्ने, टाउकोको छाला रगडिने हुँदा कपाल राम्रोसँग विकास हुन नसक्ने र नयाँ कपालको विकासमा बाधा पु¥याउन सक्छ ।त्यसबाहेक लामो समयसम्म हेल्मेट लगाइरहँदा टाउको दुख्ने समस्या पनि आउँछ । कपालको स्याहार नपुगे उलोप्सिया जस्तो रोग पनि लाग्न सक्छ ।

स्कुटर र मोटरसाइकलमा यात्रा गर्दा हेल्मेट लगाउनु बाध्यकारी हुन्छ । तर कतिपयको बानी सडकमा मात्रै नभई अफिस वा अन्य ठाउँमा समेत हेल्मेट नखोली लामो समय रहने बानी हुन्छ । यस्तो बानीले कपाललाई हानि पु¥याइरहेको हुन्छ । एकैछिन भए पनि कपाललाई खुल्ला छोडियो भने पनि अक्सिजन ग्रहण गर्न सक्ने हुनाले बेलाबेलामा हेल्मेट खोलिरहनु राम्रो हुन्छ ।

हेल्मेट लगाउनेले कसरी कपाललाई स्वस्थ राख्न सकिन्छ ?

हेल्मेट लगाउँदा पनि कपाललाई स्वस्थ राख्न सकिन्छ त ? भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ । हेल्मेट लगाउँदा पनि कपाललाई स्याहार गर्न सकियो भने कपाल स्वच्छ र बलियो हुन्छ । त्यसको लागि सबैभन्दा राम्रो र अनिवार्य भनेको हेल्मेट लगाउनुअघि स्कार्फ लगाउनुपर्छ । टाउकोमा स्कार्फ बाँध्दा कपाल झर्ने समस्या कम हुने मात्र होइन, हेल्मेटबाट हुन सक्ने जोखिमलाई पनि कम गर्छ ।

स्कार्फ लगाउँदा आधा निधार छोपेर पछाडि लाने र त्यसपछि कपाललाई गोलो पारेर रोल गरेर सबै भाग ढाक्ने र पछाडि कानको भागमा हल्का लुज पारेर बाँध्न सकिन्छ । सवारी चलाउनेले मात्र नभएर चालकसँगै सवार हुने व्यक्तिले पनि हल्का लुज पारेर हावा र घामबाट जोगाउन स्कार्फ लगाउनुपर्छ ।

हेल्मेटलाई हरेक दिन राम्ररी सफा गरेपछि लगाउनुपर्छ । किनभने यसको भित्री तहमा रहेको फोम पसिनाले भिजेको हुन्छ, जसले  फङ्गस बढ्न सक्ने जोखिम हुन्छ । लामो यात्राको क्रममा सम्भव भएमा छोटो अन्तरालमा रोकिएपछि हेल्मेट हटाउनुपर्छ ताकि कपाल र हेलमेट दुवै सुक्न पाउन् ।

कपाललाई जोगाउन अन्य तरिका

–     बाइक चलाउँदा घाम र हावाको असर बढी कपालमा हुन्छ । जसकारण दुई सातामा एकपटक हियर ट्रिटमेन्ट गराउनुपर्छ ।

–     यदि धेरै समयसम्म हेल्मेट लगाइएको छ भने घर पुगेपछि तुरुन्त नुहाउनुपर्छ । दैनिक हेल्मेल लगाउनेले गर्मीयाममा दैनिक र जाडोयाममा साताको दुईपटक कपाल नुहाउनुपर्छ ।

–     दुईपटक स्याम्पू लगाएर कपाललाई नुहाएपछि अनिवार्य कन्डिसनर लगाउनुपर्छ । स्याम्पू आधा चम्चा र पानी दुई चम्चा मिसाएर कपालमा लगाउने र राम्रोसँग पखाल्नुपर्छ ।

–     कपालको पानी सुकेपछि मात्रै कन्डिसनर लगाउनुपर्छ । यसले कपाललाई नरम र मुलायम बनाउँछ ।

–     कम्तीमा पनि साताको एकपटक कपालमा तेल हालेर मसाज गर्नुपर्छ । स्टिम लिएर तेलले मसाज गरियो भने झनै राम्रो हुन्छ ।

–     हेल्मेट लगाएको कारण अत्यधिक चाया कपालमा परेको छ भने तेलमा कागती मिसाएर मसाज गर्दा चाया बिस्तारै कम हुँदै जान्छ ।

–     तालुमा छुने गरी कपाल कोर्नुपर्छ । यसले कपालमा हुने मृत कोषिका र चाया जान्छ ।

–     हेल्मेटको साथै टोपी पनि लगाउनु हुँदैन । कपाललाई सकेसम्म खुल्ला छोड्नुपर्छ ।

(सौन्दर्यविद् चक्रदरसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?