+
+

मधेश प्रदेशमा मन्त्रालय टुंग्याउन सकस

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते २०:०६

२८ पुस, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा नेपालका सरोजकुमार यादव नियुक्त भएसँगै दलहरु मन्त्रालयको भागबन्डामा व्यस्त भएका छन् ।

बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार १२ बजे पद तथा गोपनियताको शपथ लिने छन् ।

उनले आफूलाई समर्थन गरेका दलबाट कम्तीमा एक–एकजना मन्त्री हुने गरी सानो मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् ।

तर दलहरुले पहिला मन्त्रालय टुंगो लगाएर मात्रै शपथ ग्रहण गराउने अडानमा छन् । महत्वपूर्ण मन्त्रालयमा दलहरु आआफ्नो दावी गरेपछि टुंगो लगाउन सकस भएको छ ।

मन्त्रालय भागबन्डाको लागि केन्द्रमा छलफल भए पनि टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् । प्याकेजमै सहमतिको प्रयास भइरहेको जनमतका नेता वीपी साहले जानकारी दिए ।

मधेस प्रदेशमा यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । यादवलाई लोसपाले पनि समर्थन जनाएको छ । उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् । माओवादी केन्द्रका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

जसपाले मुख्यमन्त्री बाहेक ३, एमाले ३ र जनमतले पनि तीन मन्त्रालयको दावी गरेका छन् । तीनै दलको प्रथामिकतामा अर्थ, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय छ । त्यस्तै माओवादी केन्द्रले २, लोसपाले कम्तिमा १ मन्त्रालय दिन माग गरिरहेका छन् । मधेश प्रदेशमा १० मन्त्रालय छ ।

यो प्रदेशमा एमालेले सभामुख र जनमतले उपसभामुख पाउने भागबण्डा समेत भइसकेको छ । एमाले ३, जसपा र जनमतले २–२ मन्त्रालय भागबण्डामा पाउने सम्भावना छ । बाँकी तीन मन्त्रालयबाट माओवादी केन्द्र, लोसपा र स्वतन्त्र सांसदलाई दिने तयारी भएको श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?