+
+

गुल्मीमा सुन्तला उत्पादन बढ्यो, मूल्य बढेन

अनिल खत्री अनिल खत्री
२०७९ माघ २ गते १३:११

२ माघ, गुल्मी । सुन्तला सिजन सुरु भएकाले कृषकलाई सुन्तला टिप्न र बेच्न भ्याई नभ्याई छ । पछिल्लो समय गुल्मीमा सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि उत्पादन बढे पनि मूल्य भने वृद्धि नभएको प्रति कृषकहरु चिन्तित भएका छन् ।

सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यस खेतीतर्फ आकर्षित हुन थालेकाले गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको छ । तर, कृषकहरु भने उचित मूल्य नपाएर मारमा पर्ने गरेका छन् ।

गत वर्षभन्दा सुन्तला उत्पादन बढी भएको कृषकहरुको भनाइ छ । उत्पादन बढे पनि गत वर्षभन्दा कम मूल्यमा सुन्तला बेच्न बाध्य छन् कृषकहरु । गुल्मीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भएपछि उत्पादन बढ्दै जान थालेको छ । जोनले सुन्तला कृषकलाई गरेको प्रोत्साहनका कार्यक्रमले गर्दा उत्पादन बढ्दै जान थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेको सुन्तला जोनले सुन्तला पकेट क्षेत्रमा नयाँ गाउँमा अवलोकन गरेको छ । सुन्तला पाक्दै गरेको समयमा कृषकका समस्या र उत्पादनको पछिल्लो अवस्था बारेमा जोनले सुन्तला कृषककहाँ अवलोकन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोनका प्रमुख गंगा पोखरेलले बताइन्।

जिल्लाका सवै स्थानमा सुन्तला खेती गरिएको छ । तर जिल्लाको धुर्कोट गाउँपालिकाको नयाँ गाउँमा मात्रै २ करोड बढीको सुन्तला उत्पादन हुने गरेको छ । उत्पादित सुन्तला बजारीकरणको कुनै समस्या नरहे पनि उचित मूल्य नपाएको कृषक मिनराज पोखरेल बताए । नउले भने, ‘सुन्तला उत्पादन बढे पनि मूल्य बढेको छैन।हामी कृषक‍हरु पुरानै मूल्‍यमा सुन्तला बेच्न बाध्य छौं।’

बजारमा सबै चिजको मूल्य बढ्दा सुन्तलाको मूल्य पनि बढ्नुपर्ने उनको भनाइ छ । सुन्तला बिक्रीबाटै वार्षिक दुई लाख आम्दानी गर्दै आएको उनले बताए । सुन्तला कृषकले अहिले बोटबाटै केजीकाे ५० देखि ५५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । गत वर्ष ६० रुपैयाँ केजीमा सुन्तला बिक्री गरेको कृषक मिना घिमिरेले बताइन् ।

उनले गत वर्षभन्दा पनि कम मूल्यमा बिक्री गर्न परेको बताइन् । सुन्तला उत्पादक कृषकहरुका लागि सिंचाइको अभाव रहेको मिनप्रसाद पोखरेलले बताए । उनले सरकारले सिंचाइको व्यवस्था गर्नुपर्ने भनाइ छ । नयाँ गाउँको सुन्तलाको माग बढ्दो रहेको छ।

स्थानीय व्यापारीहरुले बगैंचा नै खरिद गरी बुटवलसम्म पठाउने गरेका छन् । स्वादका हिसाबले नयाँ गाउँको सुन्तला राम्रो हुने गरेको छ । नयाँ गाउँमा धेरै कृषकहरुको सुन्तला उत्पादन पुर्ख्यौली पेशा हो । पछिल्लो समयमा मात्र त्यहाँका कृषकहरुले व्यावसायिक रुपमा सुन्तला उत्पादनमा लागेका हुन् ।

यहाँका कृषकहरुको जीविकोपार्जन गर्ने माध्यम सुन्तला उत्पादन हो । सुन्तला बेचेरै यहाँका कृषकहरुले परिवार चलाउँदै आएका छन् । उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण गरिएको छ । मुसिकोटको ददल्का, सत्यवतीको लिम्घा, भार्से र ठुलो लुम्पेक, कालीगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुँगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् ।

गुल्मीदरबारको गौडाकोट, जुभुंग, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवनपानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् । यी बाहेकका क्षेत्रमा पनि सुन्तला उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?