
२ माघ, काठमाडौं । राष्ट्रिय विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमा दाबी भुक्तानी सम्बन्धमा कुनै समस्या नरहेको बताए ।
शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको उनले बताए । प्रमाणको आधारमा बीमा दाबीमा कुनै समस्या नरहेको उनको भनाइ थियो ।
विदेशी नागरिकको शव पनि संकलन गरेर त्यसको पोष्टमार्टम गर्नुपर्ने र त्यसलाई विदेश पठाउने व्यवस्थालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए ।
बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइन एन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।
प्रतिक्रिया 4