+
+

अमेरिकी विदेशमन्त्रीलाई हामी चीनमा स्वागत गर्छौंः प्रवक्ता वाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १७:४५

३ माघ, वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गते चीन भ्रमणमा जाने भएका छन् । दुईदिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको आणविक हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिक हुने समाचारपत्र पोलिटिकोले जनाएको छ ।

विदेशमन्त्रीले आफ्ना चिनियाँ समकक्षी छिन कङसँग भेटवार्ता गर्ने उनको भ्रमणसँग परिचित वासिङ्गटनस्थित कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै उक्त अखबारले जनाएको छ । यद्यपि अमेरिकी विदेश मन्त्रालय र चिनियाँ सरकारले भ्रमणसम्बन्धी विवरण जारी गरेका छैनन् ।

विदेशमन्त्री ब्लिन्केनको बेइजिङ भ्रमण गत नोभेम्बरमा इन्डोनेसियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भेटवार्ता, त्यस क्रममा भएका समझदारीको कार्यान्वयनका निम्ति थप छलफल गर्ने नियमित एवम् निरन्तर कूटनीतिक अभ्यास हो । यो भ्रमणबाट तनावमा गुज्रिरहेको अमेरिका–चीन सम्बन्धलाई थप फलदायी बनाउन मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मंगलबार नियमित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको भ्रमणलाई चीनले स्वागत गरेको बताए ।

ब्लिन्केनको फेब्रुअरी ५ मा हुने चीन भ्रमणबारे पत्रकारले सोधेको प्रश्नलाई सम्बोधन गर्दै प्रवक्ता वाङ वेनबिनले भने, ‘चीन विदेश मन्त्री ब्लिन्केनको चीन भ्रमणको स्वागत गर्दछ । चीन र संयुक्त राज्य अमेरिका केही विशेष विषयहरूमा संवादमा छन् ।’

उनले अगाडि भने, ‘हामी आशा गर्दछ कि संयुक्त राज्य अमेरिकाले चीनको बारेमा सही दृष्टिकोण अपनाउनेछ, हात लाग्यो शून्य हुनुभन्दा दुवै पक्षले जित्ने गरी टकरावको सट्टा वार्तालापलाई जोड दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?