+
+

गुगलका डाटा सेन्टरले खपत गर्छन् वार्षिक १५ अर्ब लिटर पानी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १६:०१

गुगल सर्च इन्जिनमा हरेक दिन अर्बौं पटक सर्च गरिन्छ । गुगलले संसारभरका मानिसका प्रश्नको जवाफ दिन्छ र त्यसमा गुगलका डाटा सेन्टरहरुले काम गर्छन् । ती डाटा सेन्टरहरुले बर्सेनि अर्बौं लिटर पानी खपत गर्दछन् ।

विश्वभर रहेका गुगलका डाटा सेन्टरहरुले सन् २०२१ मा १५ अर्ब लिटर पानी खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । त्यसमध्ये ८० प्रतिशत त अमेरिकामा रहेका डाटा सेन्टरले मात्रै खपत गरेका छन् ।

द आरेगोनियनले सोधेको प्रश्नको जवाफमा गुगलले उक्त तथ्यको खुलासा गरेको हो । उक्त मिडियाले ओरेगनस्थित एक गुगलको डाटा सेन्टरले कति पानी खर्च गर्छ भन्ने जवाफ दिन गुगललाई चुनौती दिएको थियो । मिडियाको उक्त प्रश्नपछि त्यो सवाल केही पेचिलो बन्यो र मामिला अदालतसम्मै पुग्यो । विवाद एक वर्षसम्म लम्बियो । त्यसपछि गुगलले उक्त प्रश्नको जवाफ दिंदै ओरेगनस्थित डाटा सेन्टरले सन् २०२१ मा एक अर्ब २५ करोड लिटर पानी खपत गरेको प्रष्टीकरण दियो ।

साथै गुगलले आफ्ना डाटा सेन्टरले गर्ने पानी खपतका विषयमा नियमित रुपमा रिपोर्ट सार्वजनिक गर्ने पनि प्रतिबद्धता जनाएको छ । गुगलका अनुसार उसका डाटा सेन्टरहरुमा पछिल्लो पाँच वर्षमा पानीको खपत तीन गुणाले बढेको छ । ओरेगनस्थित डाटा सेन्टरले गर्ने पानीको खपत चाहिं पूरै ओरेगन सहरमा आपूर्ति हुने पानीको एक चौथाई हिस्सा हो । गुगलका अनुसार ओरेगनस्थित त्यो डाटा सेन्टरले त्यति पानी खपत गरेको छ जति अमेरिकाका २९ वटा गल्फ कोर्समा खर्च गरिन्छ ।

वास्तवमा अन्य प्रविधि कम्पनीले जस्तै गुगलले पनि पानीको खपतका विषयमा जानकारी सार्वजनिक गर्ने गरेको थिएन । गुगलले पहिलोपटक आफ्ना डाटा सेन्टरले पानीको परिमाण सार्वजनिक गरेसँगै अन्य ठूला प्रविधि कम्पनीमाथि पनि दबाब बढेको छ ।

न्युयोर्कस्थित अपटाइम इन्स्टिच्युटका सस्टेनाबिलिटी कन्सल्टेन्ट डेभिड मिटनका अनुसार गुगल सम्भवतः पहिलो ठूलो प्रविधि कम्पनी हो जसले आफ्नो पानीको खपतको तथ्यांक सार्वजनिक गरेको छ । यसअघि पानीको खपतबारेको तथ्यांक कुनै पनि कम्पनीले सार्वजनिक गर्ने गरेका थिएनन् र त्यसलाई गोप्य राख्ने गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?