+
+
Shares

राष्ट्रपतिद्वारा मौलिक संगीतको संरक्षण गर्नुपर्नेमा जोड, नातिकाजी सम्मान तथा पुरस्कार प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते २२:०९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार वितरण गरेकी छन् । नातिकाजी स्मृति समाजले शुक्रबार शीतल निवासमा आयोजना गरेको समारोहमा कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।

सम्मान प्रदान गर्दै राष्ट्रपति भण्डारीले मौलिक गीत/सङ्गीतको संरक्षण र विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन् । साथै, मौलिक गीत/सङ्गीतमा सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्न सक्ने क्षमता भएको हुनाले यसको संरक्षण गर्नुपर्ने उनले बताइन् ।

विभिन्न जातीय समुदायका मौलिक संस्कृति एवं गीत/सङ्गीतले नेपालको भौगोलिक विविधताको समेत प्रतिनिधित्व गर्ने र विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता राख्ने समेतले राष्ट्रपति भण्डारीले बताइन् ।

स्वर्गीय नातिकाजी लगायत नेपाली साङ्गीतिक क्षेत्रको पहिलो पुस्ताका कलाकारको योगदान अतुलनीय रहेको उल्लेख गर्दै भण्डारीले उनीहरूका गीत/सङ्गीतको संरक्षण र प्रचारप्रसारका लागि सबैले ध्यान दिनुपर्ने बताइन् ।

सो अवसरमा कलाकारहरू मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई राष्ट्रपतिको हातबाट नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८ प्रदान गरियो ।

राष्ट्रपति भण्डारीले कलाकारहरू एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय पुरस्कार तथा देबेन गिरी, दीपक शर्मा कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिन् ।

लोक गायिका देवी घर्तीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार, चन्दनकुमार श्रेष्ठलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, रविन कार्की ढलीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन पुरस्कार तथा आशिष सचिन गौतमलाई नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार प्रदान गरियो । स्वर्गीय नातिकाजी श्रेष्ठले स्थापना काल देखिको झण्डै ४० वर्ष रेडियो नेपालमा रहेर नेपाली गीत/सङ्गीतको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?