+
+

जसपा र एकीकृत समाजवादीको एकता कति नजिक ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ माघ ८ गते २०:१६

८ माघ, काठमाडौं । चुनावमा अपेक्षाकृत मत नपाएको आन्तरिक विश्लेषण गरेका जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच एकताको प्रक्रिया अघि बढेको छ ।

उनीहरुले नीतिगत समझदारीको विन्दू पहिल्याउने गरी दस्तावेज आदान प्रदान गरेका छन्, तर यसले एकताको रुप लिन्छ कि लिँदैन भन्ने जिज्ञासा अझै बाँकी नै छ ।

हालै सम्पन्न आम चुनावले यसअघि चौथो ठूलो दल रहेको एकीकृत समाजवादीलाई सातौं र पाँचौं स्थानमा रहेको जसपालाई छैटौं स्थानमा पुर्‍याइदिएको छ ।

कमजोर बनेका दुवै पार्टीले शक्ति बढाउने रणनीति अन्तर्गत विचार मिल्ने अन्य पार्टीहरुसँग एकता गर्न समिति बनाएका थिए । जसपाले २० पुसमा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीले महासचिव बेदुराम भुसालको नेतृत्वमा वार्ता समिति बनायो ।

दुवै पार्टीद्वारा गठित वार्ता समितिबीच दुई पटकको वार्तापछि शनिबार एक अर्काको दस्तावेज हस्तान्तरण भएको छ ।

राजनीतिक दस्तावेजको आदान–प्रदान भएसँगै एकता प्रक्रिया अघि बढेको दुवै पार्टीका नेताहरुले बताएका छन् ।

जसपाले गठन गरेको वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले अब राजनीतिक दस्तावेजको अध्ययन गरेर दुई पार्टीबीच रहेका समानता र असमानता खुट्याउने काम हुने बताए ।

त्यसको जिम्मा एकीकृत समाजवादीको तर्फबाट गठित वार्ता टोली सदस्य विजय पौडेल र जसपाको वार्ता टोली सदस्य गोविन्द चौधरीले जिम्मा पाएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव एवम वार्ता टोली सदस्य प्रकाश ज्वालाले पनि दस्तावेज आदान प्रदानले एकता प्रक्रियालाई अघि बढाएको बताए ।

मोर्चा हुँदै एकतासम्म

शक्तिको क्षयीकरणसँगै सत्तामा खासै भाउ नपाइरहेका जसपा र एकीकृत समाजवादी शक्ति आर्जन गर्ने प्रयत्नमा छन्। तर, एकीकरणका लागि समय लाग्ने भएकाले तत्काल दुई पार्टीबीच मोर्चा भए पनि बनाउने तयारी उनीहरुको छ ।

‘एकीकरणको प्रक्रिया लामो हुन्छ । यसले समय लिन्छ । त्यसकारण एकीकरणको काम पनि अगाडि बढाउँदै जाने र तत्काल मोर्चा पनि बनाउने भन्ने छ,’ जसपाको वार्ता टोली सदस्य चौधरीले भने ।

निराशाजनक चुनावी नतिजा प्राप्त भएपछि दुवै पार्टीका अध्यक्षबीच पटक–पटक भेट भएको थियो । उनीहरुबीचको छलफलपछि जसपा अध्यक्ष यादवले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई १५ पुसमा उनकै निवास डल्लु पुगेर भेटघाट गरेका थिए ।

भेटमा यादवले खनालसँग पार्टी एकताको प्रस्ताव समेत गरेका थिए । शीर्ष नेताहरुबीचको छलफल पनि दुवै पार्टीले वार्ता समिति बनाएका थिए ।

‘सम्भव भएसम्म पार्टी एकतामा जाने र तत्काल एकता सम्भव नभए मोर्चा बनाएर जाने कुरा भएको छ,’ एकीकृत समाजवादीका उपमहासचिव ज्वाला भन्छन् । दुवै दलबीच एकता भए नयाँ पार्टी २२ सिटसहित संसदको चौथो ठूलो दल हुने छ । अहिले चौथो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद छन् ।

जसपाका १२ सांसद छन् भने समानुपातिकतर्फ राष्ट्रिय दल बन्न नसकेको एकीकृत समाजवादीका १० सांसद छन् । एकतापछि सरकार निर्माण र विघटन लगायतमा उनीहरुको प्रभावकारी भूमिका हुने छ ।

‘यसलाई हेरेर पनि शीर्ष नेताहरु सकभर एकतामै जानुपर्छ भन्नेमा हुनुहुन्छ,’ जसपाका एक नेताले भने ।

यस्ता छन् समानता र असमानता

एकताका लागि जुटेका जसपा र एकीकृत समाजवादी स्थापनाको आफ्नै पृष्ठभूमि छ ।

संघीयता नसमेटिएको विरोधमा २०६३ सालमा जारी भएको अन्तरिम संविधान जलाएर सुरु भएको ‘मधेश विद्रोह’बाट तत्कालीन मधेशी जनअधिकार फोरमको उदय भएको थियो ।

यादव नेतृत्वको उक्त पार्टी तत्कालीन नयाँ शक्ति, राष्ट्रिय जनता पार्टीसँग एकीकरण हुँदै हालको जसपा बनेको हो ।

नेकपा एकीकृत समाजवादी भने गठन भएको धेरै भएको छैन । नेकपा एमालेमा विवाद बढ्दै गएपछि माधव नेपाल लगायतका नेताहरुले २ भदौ २०७८ मा एकीकृत समाजवादी दर्ता गराएका थिए ।

दुवै पार्टीबीच वैचारिक विषयमा समानता र भिन्ता दुवै छन् । समाजवादलाई रणनीतिक लक्ष्य बनाएको जसपाले आफूलाई प्रगतिशिल समाजवादी पार्टी मान्छ ।

एकीकृत समाजवादीले समेत समाजवादलाई आफ्नो रणनीति लक्ष्य बनाएको छ । उसले आफूलाई कम्युनिष्ट शक्ति मान्छ ।

समाजवाद दुवै पार्टीको साझा लक्ष्य भए पनि कम्युनिष्ट बन्ने या छोड्ने कुरामा दुवै पार्टीबीच मतभेद हुने देखिन्छ ।

१५ पुसमा भेटमा समेत खनाल र यादवबीच यो कुरा उठेको थियो । यादवले समाजवादी एकताको प्रस्ताव गरेका थिए भने खनालले बाम ध्रुवीकरणमा जोड दिएका थिए ।

यद्यपि यस्ता वैचारिक भिन्ताका बिषयमा वार्ता समिति हुँदै शीर्ष तहसम्म छलफल गरेर जान सकिने बताउँछन् जसपाका वार्ता टोली सदस्य श्रेष्ठ ।

‘नमिलेको कुरामा वार्ता समितिमा मिलाउने कोसिस हुन्छ,’ उनको भनाइ छ, ‘हामीले समेत मिलाउन नसकेको विषयमा शीर्ष नेताहरुबीच छलफल हुन्छ ।’ दुवै पार्टीको साझा लक्ष्य समाजवाद भएकाले अन्य कुरामा मिलाउन सकिने विश्वास श्रेष्ठको छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?