+
+

‘दुर्घटनाबाट पाइलटले पाठ सिक्दै मनोबल उच्च राख्छन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते २०:२३

८ माघ, काठमाडौं । १ माघमा पोखरामा भएको जहाज दुर्घटनापछि हवाई यात्रा गर्ने यात्रुको संख्या केही घटेको छ । वायुसेवा कम्पनीहरुका अनुसार यस्तो प्रभाव सबै वायुसेवा कम्पनीका यात्रुमा परेको छ ।

दुर्घटनापछि यात्रुरुको मानसिकतामा पर्ने प्रभावले यस्तो हुने गरेको छ । अन्तरार्ष्ट्रिय सन्दर्भहरु पनि यसमा कारक हुन्छन् । नेपालमा हवाई दुर्घटना भएकै साता युक्रेनमा हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्रीसहित १८ जनाको ज्यान गएको थियो । धेरैलाई लाग्छ यस्ता दुर्घटनाले विमान चालक (पाइलट)हरुलाई पनि मानसिक रुपमा प्रभाव परेको हुनसक्छ ।

तर, बुद्ध एयरका क्याप्टेन प्रमोदकुमार थापाका अनुसार सामान्यतया जहाज दुर्घटनाहरुले पाइलटको मनोबल घटाउने गरी प्रभाव पर्दैन । हरेक पाइलट उच्च गुणतस्तरको तालिम लिएर अभ्यस्त भएपछि मात्र ककपिटको कमाण्डमा पुग्ने गरेको भन्दै उनले आफूमाथिको विश्वासका कारण दुर्घटनाहरुले पाइलटको मनोबलमा कुनै असर नगर्ने उनको भनाइ छ ।

‘सबै जना पाइलट राम्रो तालिम पाएकाहरु हुन्छन्, आफ्नो क्षमतामा सबै आत्मविश्वासी हुन्छन्,’उनले भने,’यस्ता घटनाले मनोबल कम हुँदैन ।’

पाइलटहरुलाई आफ्नो पेशा र जिम्मेवारीबारे राम्रोसँग बोध हुने भन्दै उनले तालिम र अनुभवले पनि पाइलटहरुको आत्मबल बढाइरहने बताए । तर, कुनै पनि घटना अन्य पाइलटहरुका लागि भने सिकाइ हुने उनको भनाइ छ ।

‘कुनै कतै घटना भइहाल्यो भने त्यसबाट हामीले पनि सिक्छौं,’ उनले भने, ‘त्यसलाई तालिमको विषयवस्तुमा समावेश गर्छौं र कमी कमजोर भए सुधारमा लाग्छौं ।’

वायुसेवा कम्पनीहरुले तालिम र जनशक्ति विकासमा ठूलो रकम खर्च गर्ने गरेको र त्यसको उद्देश्य हवाई सेवालाई सुरक्षित बनाउनु भएको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार हवाई सुरक्षा अभिवृद्धि गर्न कम्पनीहरुले निरन्तर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गर्दै काम गर्छन् । प्राधिकरणले तोकेको मापदण्ड पुरा गर्दै हुने उडानले उड्डयन सुरक्षा मजबुत गराउने उनको भनाइ छ ।

उनका अनुसार पोखरामा यतीको जहाज दुर्घटनालगत्तै बुद्धले आफ्ना सबै कर्मचारीसँग बैठक बसी घटनाबारे जानकारी गराएको थियो । ‘यस्तो बेला ढाडस पनि दिनु पर्छ, उनले भने, ‘त्यसपछि यो घटना यसरी भए होला भन्ने बारे छलफल गर्‍यौं, कतिपय विषय बाहिर ल्याउन मिल्दैन ।’

पोखरा दुर्घटना पाठ भएको भन्दै गल्ती छन् भने निरन्तर सुधार गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?