+
+

कर्णाली सरकारले भोलि पूर्णता पाउने, यी हुन् सम्भावित मन्त्री

यज्ञ खत्री यज्ञ खत्री
२०७९ माघ १० गते २१:३५

१० माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा मिलेसँगै प्रदेश सरकारले पूर्णता पाउने भएको हो ।

सत्तारुढ गठबन्धनमा मंगलबार भएको सहमति अनुसार माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।

नेकपा एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको सत्ता साझेदार दलको छलफलमा सहभागी एक नेताले बताए । मन्त्रालयको भागबण्डाको टुंगो लगाएसँगै नेताहरू मन्त्री छनोटको तयारीमा जुटेका छन् ।

दुई साताअघि नै दुई दलले मुख्यमन्त्रीबाहेक बाँकी तीन/तीन मन्त्रालय लिने सहमति भए पनि कुन मन्त्रालय कसले लिने भन्ने विषय टुंगो लाग्न सकेको थिएन । मन्त्रालय भागबण्डाबारे दुई दलबीच लिखित सहमति भएको माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

इन्चार्ज मल्लका अनुसार ८ सदस्यीय रहेको कर्णाली प्रदेश मन्त्रिपरिषदमा ऊर्जा तथा जलस्रोतलाई पुनः भौतिक पूर्वाधार मन्त्रालयमा नै गाभिएको छ र अब ७ वटा मात्र मन्त्रालय रहनेछ ।

२७ पुसमा नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्माले एमालेका विनोदकुमार शाह र माओवादीका मंगलबहादुर शाहीलाई २८ पुसमा बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । अब कसलाई मन्त्री बनाउने भन्ने सम्बन्धमा दुई दलले टुंग्याउनेछन् ।

बुधबार बिहान एमाले र माओवादी केन्द्रका संसदीय दलको बैठक बस्दैछ । बुधबार नै मन्त्री नियुक्ति र शपथ गराउने तयारी गरिएको मुख्यमन्त्री शर्माको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनमा राप्रपा रहे पनि कर्णालीमा प्रमुख दुई दल एमाले र माओवादी केन्द्रले मात्र मन्त्रालयको भागबण्डा गरेका छन् । प्रदेशमा राप्रपा र नेकपा एकीकृत समाजवादीका एक/एक सांसद छन् ।

को–को बन्दैछन् मन्त्री ?

मन्त्रालयको भागवन्डा टुंगो लागेसँगै कुन दलबाट को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा हुन थालेको छ । एमाले र माओवादीका तर्फबाट भोलि थप दुई/दुई जना मन्त्रीलाई मुख्यमन्त्री शर्माले नियुक्त गर्नेछन् ।

माओवादीले मन्त्री छनोट गर्ने जिम्मेवारी प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल, दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा र प्रदेश अध्यक्ष विमला केसीलाई दिएको छ । त्यस्तै एमालेले दलका नेता यामलाल कँडेललाई मन्त्री छनोटको अधिकार दिएको छ ।

माओवादी केन्द्रका अधिकांश सांसदहरु मन्त्रीको आकांक्षी छन् । माओवादीबाट सुर्खेतका कृष्णबहादुर जिसी, सल्यानका भीमप्रकाश शर्मा र डोल्पाकी उर्मिला विश्वकर्मा मन्त्रीका लागि सम्भावित व्यक्ति हुन् ।

‘मन्त्रीका आकांक्षी धेरै हुनुहुन्छ । तर भूगोल र समावेशीता मिलाए लैजाने कुरा प्रमुख रहन्छ,’ मन्त्री छनोटको अधिकार पाएका एक नेता भन्छन्, ‘एकातिर सल्यान र सुर्खेतको भुगोल मिलाउनुपर्नेछ । त्यस्तै अर्को तिर एकजना महिला अनिवार्य पठाउनु पनि छ । हामी छलफलमै छौं ।’

कालीकोटबाट निर्वाचित सांसद यशोदा न्यौपाने उपसभामुख भइसकेकी छन् । यसअघि मुगुका मंगलबहादुर शाही मन्त्रीमा नियुक्त भइसकेका छन् । अघिल्लो कार्यकालमा मन्त्री भइसकेका विन्दमान विष्ट र वीरबहादुर शाही मन्त्री बन्ने लाइनबाट बाहिर छन् ।

माओवादीले अघिल्लो कार्यकालमा मन्त्री भइसकेका भन्दा पनि नयाँलाई प्राथमिकतामा राखेर मन्त्री छनोट गर्ने भएको छ ।

त्यस्तै नेकपा एमालेले प्रदेश अध्यक्ष समेत रहेका विनोद कुमार शाहलाई विना विभागीय मन्त्री बनाइसकेको छ भने । थप दुई जनालाई बुधबार नियुक्त गर्ने भएको छ । एमालेबाट जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर मल्ल र डोल्पाका शेरबहादुर बुढा मन्त्रीका लागि सम्भावित छन् । अन्य सांसदहरु पनि मन्त्रीमा आकांक्षा राखेका छन् ।

‘अहिलेसम्म उहाँहरु तीनजाको नाम पार्टीभित्र जोडतोडले उठेको छ । तर कस्लाई मन्त्री बनाउँने भन्ने अधिकार इन्चार्ज कमरेडको हातमा छ,’ एमालेका एक सांसद भन्छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?