+
+

नवलपरासीको समग्र विकासका लागि सांसद विनोद चौधरीले गरे १५ आयोजना प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १७:४५

१३ माघ, बर्दघाट । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीले जिल्लाकै समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले प्रतिनिधिसभा निर्वाचनका दौरान जनता समक्ष गरेका प्रतिवद्धता अनुसार गौरवका योजनाहरु प्रस्ताव गरेका हुन् । सांसद चौधरीले समग्र जिल्लाको विकास र समृद्धि आफ्नो सरोकार भएको बताए ।

पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि गहन अध्ययन गरेर गौरवका आयोजनाहरु छनोट गरिएको उनले बताए । सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाका ४ वटा वडा गरी कुल ३४ वटा वडाहरु पर्दछन् ।

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला र विज्ञहरुसँग निरन्तर छलफल गरेर क्षेत्र र जिल्लाका प्राथमिकताहरु निर्धारण गरेका हुन् । ती आयोजनाहरुमा संघ र प्रदेश सरकारमार्फत बजेट सुनिश्चितता गराई कार्यान्वयन गरिने उनको भनाइ छ ।

सांसद चौधरीले प्राथमिकतामा परेका आयोजनाहरु कार्यान्वयनका लागि आफू सक्रिय रहने प्रतिवद्धता जनाएका छन् । ‘हचुवाको भरमा बनाइने योजना र आश्वासनले जनताको माग पूरा गर्दैन । विकास र समृद्धिको जुन चाहना जनताले व्यक्त गरेका छन् त्यसको कार्यान्वयनका लागि जनप्रतिनिधिका रुपमा मैले व्यवस्थित पहल थालेको छु’ चौधरीले भने ।

बर्दघाट नगरपालिकासँग अन्य स्थानीय तहहरुलाई जोड्नेगरी चक्रपथ निर्माण गर्ने, केरा खेती प्रबर्द्धन गर्ने, पशुपालनमा किसानलाई आकर्षण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न सीप विकास केन्द्र स्थापना गर्ने, कृषि बजार केन्द्र स्थापना गर्ने लगायतका आयोजनाका प्रस्ताव उनले अघि सारेका छन् ।

यसैगरी नवलपरासी क्षेत्र नम्बर १ मा बुद्ध सर्किट निर्माण गर्ने, सीमावर्ती पर्यटन प्रबर्द्धन गर्ने, मत्स्यपालन क्षेत्रको रुपमा विकास गर्ने,.गण्डक नहर सफाइ अभियान सञ्चालन गर्ने, उच्च शिक्षा केन्द्रको रुपमा विकास गर्ने, प्रकृतिमैत्री पर्वतीय पर्यटनको विकास गर्ने, औद्योगिक ग्राम बनाउने, एकीकृत विशेष सेवा अस्पताल निर्माण गर्ने, खेलकुद विकासका लागि बहुउद्देश्यीय खेलकुद रंगशाला निर्माण गर्ने र सरसफाइ तथा हरियाली प्रबर्द्रधन अभियान सञ्चालन गर्ने आयोजना उनले अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?