+
+
कविता :

ए सडक तँ कति बिग्रेको

शंकर अविवेकी शंकर अविवेकी
२०७९ माघ १५ गते १२:०८

ए सडक तँ कति बिग्रेको

पानी पर्छ तैं हिलाम्मे हुनुपर्ने

घाम लाग्छ तैं धुलाम्मे हुनुपर्ने

हावा चल्छ पोल ढल्छ तैं रोकिनुपर्ने

बीचबीचमा तैं उक्किनुपर्ने

खाल्डाखुल्डी तैं पर्नुपर्ने

ए सडक तँ कति बिग्रेको ?

बाटो भुलेर भट्टी छिरेका

विजय सुब्बाका सम्धीज्यू भन्दा बढी

ए सडक तँ कति बिग्रेको ?

मैले के यति भनेको थिएँ

सडक त बम्किन थाल्यो

एकोहोरो बर्बराउन पो थाल्यो

भन्छ

सतीले सरापेको देशमा

मति बिग्रेकाहरुले

गति छाडेका मान्छेहरुलाई

मेरो आङ ढाक्ने टेण्डर दिन्छन्

युवतीको गालामा दलेको

फाउन्डेसन क्रिमभन्दा पातलो

 एकसरो कालो वस्त्र भिराउँछन्

ती मति बिग्रेकाहरुले मेरो शरीरमाथि

ठूलो गर्जनसाथ रिबन काट्दै गर्दा

ताली पिट्ने हुतिहारा चाहिं तिमी

अनि गाली खाने चाहिं म ?

तिमीलाई म आज छोड्दै छोड्दिन

मुखभरिको जवाफ दिन्छु

पेट्रोलको भाउ बढ्छ

मेरो हात भाँच्ने तिमी

पेट्रोलको भाउ घट्छ

मेरो शरीरमाथि नाच्ने तिमी

यो पाइन त्यो पाइन भन्दै

मेरा खुट्टा फाल्ने तिमी

मेरो छातीमा बडेमानका

टायर बाल्ने तिमी

पानीको पाइप फुट्छ

मेरो छाती चिथोर्न तिमी

बत्तीको तार भन्दै

मेरो शरीर कोतर्ने तिमी

तिम्रो फोहोर फाल्ने ठाउँ म

तिम्रो नर्क विसर्जन गर्ने ठाउँ म

गर्ने बिगार्ने सबै गतिछाडा तिमी

अनि गाली खाने चाहिं म ?

सक्छौ भने

मेरो लागि छुट्याएको बजेट खाने मुसाको

भूँडी फुटाइदेऊ

मलाई कमसल वस्त्र भिराइदिने ब्वाँसाहरुको

मुख तोडिदेऊ

वस्त्र ठीक छ भन्दै फाइल पास गर्ने स्यालहरुको

दाँत उखेलिदेऊ

फोहोर र नर्क विसर्जन गर्ने सुँगुरहरुको

बंगारा भाँचिदेऊ

त्यसपछि पनि म बिग्रें भने

मलाई दोष देऊ

अनि भन तँ कति बिग्रेको

नत्र यहाँ बकबक नगर धेरै

फेरि तिमीलाई पनि बिगारिदिउँला

बिग्रेको सडक हुँ भत्केको चाल

भत्केको चालको तिमीलाई के को बाल ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?