+
+

बोर्डले दुबईमा गर्न लागेको फिल्म फेस्टिभलमा ‘महापुरुष’ सहभागी नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते ११:१२

काठमाडौं । ‘महापुरुष’का निर्माताले चलचित्र विकास बोर्डले युएईको दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आफूहरुको फिल्म देखाउने भन्दै प्रचार गरिएकोमा आपत्ति जनाएका छन् । निर्माण कम्पनी षट्कोण आर्ट्सले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरुलाई नसोधिकन र अनाधिकृत ढंगले फिल्म देखाउन लागिएको भन्दै प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महापुरुष राखेर पोस्टर बनाइएकोमा हाम्रो आपत्ति छ । विवादित र अनावश्यक खर्चको कार्यक्रममा हाम्रो साथ, सहयोग र सहमति छैन । हामीले फिल्म नदिने निर्णय गरेका छौं ।’ सूर्य कर्पोरेसनसँग मिलेर ३० लाख रुपैयाँ खर्चमा गर्न लागिएको फेस्टिभलप्रति पनि ‘महापुरुष’ निर्माण कम्पनीले प्रश्न उठाएको छ ।

‘त्यहाँ फेस्टिभल गर्नु भनेको पैसाको पनि दुरुपयोग हो र यसको नतिजा पनि राम्रो हुनेछैन’ कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले अनलाइनखबरसँग भने, ‘नेपालमै फिल्म चलाउन मुस्किल भैरहेको बेला दुबईमा फेस्टिभल गर्छु भन्नुले अर्थ राख्दैन । बरु बोर्डले सबटाइटलजस्ता काममा सहयोग गर्नुपर्छ ।’

बोर्डले सूर्य कर्पोरेसनसँग मिलेर फागुन १ गतेदेखि ३ सम्म युएईको दुबईमा आयोजना फेस्टिभल आयोजना गर्न लागेको छ । तर, बोर्ड अध्यक्ष भुवन केसीले चाहिँ अन्तर्राष्ट्रिय बजारको खोजी र विस्तारका लागि यो फेस्टिभल लाभदायक हुने बताउँदै आएका छन् । उक्त फेस्टिभलमा कबड्डी ४ र ऐना झ्यालको पुतलीजस्ता फिल्म देखाउने पनि बोर्डको तयारी छ ।

गत पुस १४ गते बोर्ड अध्यक्ष भुवन केसी र सूर्य कर्पोरेसनका कार्यकारी अधिकृत वासुदेव लामिछानेले एमओयूमा हस्ताक्षर गरेका थिए । फेस्टिभलमा सहभागि हुन ३५ जनाको टोली दुबई जाने तयारीमा रहेको जनाइएको छ । फेस्टिभलको मिति नजिकिँदै गर्दा खासगरि सूर्य कर्पोरेसन र फेस्टिभलको सरकारी लगानीलाई लिएर प्रश्न उठिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?