+
+

एक लाख रुपैयाँ बुझाउन नसक्दा अस्पतालले दिएन शव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १३:०४

१६ माघ, काठमाडौं । रौतहटकी २५ बर्षीया पुनम कुमारीको आगोले जलेको कारण कीर्तिपुर अस्पतालमा आइतबार मृत्यु भयो । श्रीमतीको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर रौतहटका मनोज कुमारले सास्ती भोगिरहेका छन् ।

कुमारका अनुसार अस्पतालमा एक लाख ८ हजार रूपैयाँ बुझाउन बाँकी छ । ‘अस्पताल प्रशासनले इलाज गरेको पैसा तिरेर मात्रै लैजानु भनेको छ,’ कुमारले अनलाइनखबरसँग गुनासो गरे, ‘ उपचार गर्दा आफूसँग भएको पनि सकियो । सापटी गर्ने ठाउँमा पनि छैन । कसरी शव निकाल्ने हो !’

९ पुसमा दुई महिनाको छोरालाई तेल लगाउने क्रममा कुमारीको लुगामा आगो सल्किएका कारण शरीर जलेको थियो । परिवारले नजिककै गौर अस्पताल पुर्‍याए । केही दिन त्यही उपचार भयो । तर,  जलेको घाउ बिग्रदै गयो ।

‘एक हप्ताभन्दा बढी गौर अस्पतालमा उपचार गरियो । तर, घाउ झन्–झन् बिग्रदै गयो । अस्पतालले रिफर गरेर काठमाडौं पठायो,’ मनोजले भने । १८ पुसमा परिवारले कीर्तिपुर अस्पताल भर्ना गर्‍यो ।

मृतकका श्रीमान मनोजका अनुसार पुनको ४० प्रतिशत शरीर जलेको थियो । गौर अस्पतालमा उपचार हुँदा ७० हजार सकियो । करिब एक महिनामा कीर्तिपुर अस्पतालमा ४ लाख रुपैयाँभन्दा बढी खर्च भयो ।

‘आफन्त, संघ–संस्थाले सहयोग गरेर अहिलेसम्म उपचार भएको थियो । केही बचेर पैसा तिर्यौं भन्दा पनि केही पनि छैन,’ मनोजले भने, ‘गाउँमा माग्दा पनि कसैले पैसा दिएनन् । हिजो श्रीमतीको मृत्यु भएको रहेछ । तर, लास निकाल्न नसकेर यही बसिरहेको छु ।’

मनोजको घरमा बुबा–आमा र दुई छोरी र एक छोरा छन् । ‘भएको त्यही एउटा सानो झुप्रो घर छ । त्यही बेच्दा पनि बुढा बुबा–आमा र सना छोरीलाई कहाँ राख्ने,’ मनोज भन्छन् , ‘गरिब छु । पैसा तिरेर मात्रै शव लैजानु भन्छन् । शव छोडेर हिँड्न पनि सक्दिन ।’

अस्पतालका प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले फार्मेसीबाट लिएको औषधि मात्रै एक लाखभन्दा बढी भएकाले मिनाहा गर्न गाह्रो भएको बताए । ‘उहाँले गाउँबाट थोरै पैसा आउँदै छ भन्नुभएको छ । बाँकी पछि तिर्ने सर्तमा शव दिने तयारी भइरहेको छ,’ नकर्मीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?