
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका नेताहरुको भेलामा केन्द्रीय सदस्यलाई अवमूल्यन गरिएको विषय उठाइएको छ ।
कार्यसम्पादन समिति र पदाधिकारी बैठकबाट निर्णय गरेर केन्द्रीय सदस्यहरुको अवमूल्यन गरेको भन्दै शीर्ष नेताहरुप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
‘केन्द्रीय सदस्यहरुलाई वाइपास गरी निर्णय गर्ने क्रम रोक्न पार्टी सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने कुरा भएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय सदस्यहरुको सल्लाह लिने काम स्थानीयदेखि केन्द्रको टिकट दिने बेलासम्म गरिएन ।’
पार्टीका निर्णय प्रक्रियामा केन्द्रीय सदस्यहरुलाई सहभागी नै नगराइएकोप्रति चिन्ता प्रकट गरेका छन् । कार्य सम्पादन समितिले गरेका निर्णयलाई केन्द्रिय समितिबाट अनुमोदन गराउनुपर्ने विधानको व्यवस्थालाई कुल्चिएको अधिकांशको धारणा छ ।
पार्टीको बृहत्तर हितका लागि भ्रातृ संस्थालाई पदाधिकारीसहित ठूलो आकारको बनाउने बारेमा छलफल भएको ती केन्द्रिय सदस्यले बताए । कार्यसम्पादन र पदाधिकारीको निर्णयबाट कांग्रेसले उपलब्धि हासिल गर्न नसकेको धारणा अधिकांशले राखेका छन् ।
‘छलफल जारी छ । निचोड आइसकेको छैन,’ बैठकमा सहभागी केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले भने, ‘भ्रातृ संस्थाका कार्यसमितिको पूर्णता, निर्वाचन र नेताहरुकोे समीक्षा, नेतृत्वको अवस्था लगायतमा छलफल जारी छ ।’
बैठकमा देउवा पक्षका मुख्यतः तेस्रो तहका नेताहरुको सहभागिता छ ।
बैठकमा पूर्व उपसभामुख पुष्पा भुषाल, केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, गोबिन्द भट्टराई, चिनकाजी श्रेष्ठ, नैनसिंह महर, रणबहादुर रावल, सीता देवकोटा, शान्ति परियार, कुन्दनराज काफ्ले, अब्दुल सतार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार, हरिशरण नेपाली, बिद्या तिमिल्सेना, चन्द्र केसी, शुशिला थिंग, रुपा विक, राजिब ढुंगाना, कृष्णकिशोर घिमिरे , गणेश लामा, कर्णबहादुर बुढा लगायत उपस्थित छन् ।
काठमाडौंमा भइरहेको भेलाको संयोजन मीन विश्वकर्मा, नैनसिंह महरलगायतले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4