+
+

घट्यो अन्तर बैंक एटीएम प्रयोगको शुल्क, क्युआर भुक्तानीको सीमा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १५:५४

१७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैक एटीएम सेवामा लाग्ने घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ लाग्ने व्यवस्था गरेको छ । क्युआर स्क्यानसहित मोबाइल बैंकिङका माध्यमबाट हुने डिजिटल कारोबारमा रहेको रकमको दैनिक सीमा पनि बढाइएको छ ।

हालसम्म एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा बैंकहरुले यस्तो कारोबारको शुल्क २० रुपैयाँसम्म लिँदै आएका थिए ।

राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै सो व्यवस्था गरेको हो । यससँगै, अबदेखि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँ सम्म शुल्क लाग्नेछ ।

यसअघिसम्म  मासिक २ वटा अन्तरबैंक एटीएम कारोबार निःशुल्क हुने व्यवस्था थियो । संशोधनपछि मासिक २ वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ ।

यसैगरी, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन २ लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ ।

त्यस्तै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो ।

एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत राखिएको छ ।

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने बनाइएको छ ।

सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस)मा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ ।

यसअघि ३ हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा ५ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै रू पाँच हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्नेछ ।

यसअघि ३ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्ने गरेको थियो । १० हजार १ रुपैयाँभन्दा माथिको सबै कारोबारमा २० रुपैयाँ शुल्क लाग्ने गरेकोमा त्यस्तो शुल्क घटाएर १० रुपैयाँ बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?