+
+

एक महिनाभित्र पशुपति क्षेत्र सफा पार्न मन्त्री किरातीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १७:३०

१७ माघ, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् ।

मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् । उनले पशुपति क्षेत्र र यहाँका शौचालय असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर सफा गर्न आग्रह गरे ।

‘एक महिनामा सफा पशुपति पवित्र पशुपति नाराका साथ पशुपति क्षेत्र सफा हुनुपर्छ । एक महिनाभित्र सफा गर्नु भनेको छु । आकाश झार्नु भनेको छैन । आकाश झार्नु भनेको भए कुतर्क भयो । सफा गरौं पशुपतिलाई जसरी पशुपतिप्रति मानिसहरुले जस्तो मानसिकता बनाएर आएको हुन्छ त्यो भन्दा बढी आकर्षित गर्नुपर्छ’ उनले भने ।

मन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषको कामको पनि आलोचना गरेका छन् । कोषले कोषले कल्याणकारी कामका साथै विश्वविद्यालय, अस्पताल, विद्यालय सञ्चालन गर्नुपर्नेमा केही काम हुन नसकेको उनले बताए ।

‘म एक पटक पशुपतिनाथसँग कोषको अध्यक्ष भएर माफी माग्छु । हामीले पशुपतिको सम्मानलाई चिन्न सकेनौं । सबैको गल्तीको नेतृत्व गर्दै क्षमा माग्दै अब हामी त्यस्तो गल्ती गर्दैनौं’ उनले भने, ‘…पवित्र स्थानमा बसेर अपवित्र काम गर्ने हामी को हौं । यति ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर हामी यहाँ भन्दा गैर आध्यात्मिक अराजकता कहाँ हुन्छ । त्रिशुलले डामेर छोड्ने साँढेजस्तै छौं । पद पाएपछि डामे जस्तो अब यस्तो सह्य हुँदैन ।’

मन्त्री किराँतीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिए । उनले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए भन्ने नाम दिए पत्रकारहरुको सामु पढेर सुनाउने पनि बताए ।

‘भगवानमाथि भ्रष्टाचार गर्ने ? किन फूल व्यापारीहरुसँग पैसा उठाइन्छ, कसले उठाउँछ, पैसा उठाएर मन्त्री र सचिवलाई पैसा बुझाउने भनेर बदनाम गरिन्छ । हो मन्त्री र सचिवलाई बुझाउनै पर्छ तपाईहरुले मिडियाहरु आएका छन् । दुधको दुध पानीको पानी पशुपतिनाथको माटोमा उभिएर भन्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?