+
+

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री

रासस रासस
२०७९ माघ १९ गते १२:१२

१९ माघ, म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको छ ।

जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरण सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिए ।

‘सरदर प्रतिकिलो रु ६० का दरले रु २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौँ’, उनले भने, ‘अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको छ ।’

जिल्लाको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा छन् ।

सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । कृषि ज्ञानकेन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

सुन्तला जोन कार्यालय म्याग्दीकी नायब प्राविधिक सहायक रुपा विकले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन् । गत वर्ष दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा रु १३ करोड भित्रिएको थियो । मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो ।

सुन्तला टिपेर बजार पठाएपछि कृषक बगैँचा व्यवस्थापनको तयारीमा जुटेका छन् । मल हाल्ने, सिँचाइ गर्ने, मल्चिङ गर्ने, बोडोपेस्ट लगाउने र हाँगा काँटछाँट गर्ने काममा व्यस्त भएको कृषकले बताएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?