+
+

सुनौं बालबच्चाको कुरा : कक्षाकोठा भन्दा बाहिर पनि छ हाम्रो संसार

पढ्नुको अर्थ जागिर होइन, जीवनलाई सुन्दर बनाउनु हो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १९:२४

अक्सर बालबच्चा यस्तो भए हुन्थ्यो, यसो गरिदिए हुन्थ्यो भनेर उनीहरुमाथि हामी आफ्नो अपेक्षा लाद्ने गर्छौं । स्वभाविक हो, आमाबुवालाई आफ्नो बालबच्चाप्रति चासो र सरोकार हुन्छ । उनीहरु सफल, सक्षम होस् भन्ने चाह हुन्छ ।

त्यसैले हामी उनीहरुलाई अर्ति–उपदेश दिइरहेका हुन्छौं । हामी आफ्नो दृष्टिकोणबाट बच्चालाई हेर्ने गर्छौं र आफ्नो कुराहरु उनीहरुमाथि थोपर्ने गरिरहेका हुन्छौं । तर, उनीहरुको कुरा सुन्दैनौं ।

उनीहरुको रुची र रहरका कुरा, उनीहरुका खुबी र क्षमताका कुरा, उनीहरुका पढाई र भोगाईका कुरा के–कस्ता छन् ?

पढाईसँगै रुची र रहरका कुरा पनि

काव्य स्कुलमा पढिरहेकी मिक्कीफुङ भन्छिन्, ‘म नर्सरीदेखि नै पढाईमा राम्रो थिएँ । त्यसैले जति ग्रेड बढ्दै गयो त्यती नै पढ्नुपर्छ भन्ने लाग्न थाल्यो ।’ यस्तो अवस्थामा अभिभावक र शिक्षकको अपेक्षा पनि बढ्दै जान्छ र उनीहरुले ‘तिमीले अब यति ल्याउनुपर्छ, उति ल्याउनुपर्छ’ भन्ने गर्छन् ।

यसरी पढाईमा जोड दिइरहँदा कहिले काहीँ आफुहरुलाई दबाव महसुष हुने उनीहरुको बुझाई छ । सिम्रिक राजकर्णिकार भन्छिन्, ‘सुरुमा मेरो पढाई निकै राम्रो थियो । सबैले पढ, पढ मात्र भन्ने गर्थे । त्यही चापले गर्दा कक्षा सातमा मेरो नतिजा नै बिग्रियो ।’

उनी सानो कक्षामा हुँदा बास्केटबल, तेक्वान्दो, नृत्य, पौडी जस्ता कुरामा पनि सहभागी हुन्थिन् । तर, कक्षा बढ्दै जाँदा पढाईमा बढी केन्द्रित हुनुपर्ने भयो । ‘तर पढाईमा मात्र एकोहोरो भएर हुँदैन । अतिरिक्त गतिविधिमा पनि सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ । हामीले आफ्नो रुची र इच्छाहरु पनि पुरा गर्नुपर्छ । किनभने जीवन जिउने भनेको एकपटक मात्र हो ।’

अभिभावकले आफ्नो भावनालाई बुझेको र सहयोग गर्ने बताउँछिन्, सिम्रिक । ‘तर, कतिपय साथीका बुवाआमाले खाली पढाईमा मात्र जोड दिएर पढ, पढ भनिरहेका हुन्छन् । पढाई भन्दा अरु केही छैन जस्तो गरिरहेका हुन्छन् ।’

यसैगरी शिक्षकले पनि खेलकुद, कलाभन्दा पढाईमा बढी प्रेरित गर्ने उनी बताउँछिन् । ‘कोही कलामा राम्रो होलान, कोही नृत्यमा पोख्त होलान् तर उनीहरुलाई पढाईमा मात्र ध्यान दिन लगाइन्छ । यसले गर्दा उनीहरुको क्षमता उजागर हुँदैन ।’

मिक्कीफुङलाई चित्र बनाउन र खेलकुदमा पनि रुची छ । यद्यपि त्यसतर्फ उनी समय दिन पाउँदैनन्, पढाई बिग्रने भयले । अभिभावक, शिक्षक र छिमेकले समेत खेलकुद वा अन्य गतिविधिमा लाग्यो भने पढाई बिग्रन्छ भन्छन् । ‘त्यसैले गर्दा अरु कुरा छाडेर पढाईमा मात्र लाग्नुपर्ने हुँदोरहेछ’ मिक्कीफुङ भन्छिन् ।

कक्षाकोठा भन्दा बाहिर पनि छ हाम्रो संसार

विहान सबेरै विद्यालय पुग्नुपर्ने र साँझसम्म बस्नुपर्ने अवस्था छ । यसरी अधिकांश समय कक्षाकोठामा बिताइरहँदा खेल्ने र रमाउने समय साँघुरिएको छ । ‘विद्यालय अवधि चार बजेसम्म हुनुपर्छ जस्तो लाग्छ’ सिम्रिक भन्छिन्, ‘यसले गर्दा हाम्रो दिमाग पनि स्फुर्त हुन्छ र अन्य गतिविधिमा लाग्ने फुर्सद पनि मिल्छ ।’

विद्यालयले पढाईमा मात्र एकोहोरो बनाइरहेको लाग्छ उनलाई । फगत पढाईमा मात्र लागिरहँदा मान्छे मनरोगी पनि हुनसक्ने उनको बुझाई छ । पढाईमा एकोहोरिनेहरुले पछि अरु विकल्प नपाउन सक्छ र त्यस्तो अवस्थामा अभिभावकले पनि सहयोग नगरेमा उनीहरुको अवस्था खराब हुनसक्छ ।

बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कक्षाकोठामा नै बिताउनुपर्ने अवस्था रहेको मिक्कीफुङ बताउँछिन् । उनी भन्छिन्, ‘पढ्ने बाहेक विद्यालयमा अरु केही हुँदैन हाम्रो । विद्यालयहरुले अतिरिक्त गतिविधिलाई प्राथमिकता नै दिदैनन् । अहिलेको जमानामा केही नयाँ कुरा सिकाउने भन्दा पनि विद्यार्थीलाई बाँधेर राख्ने काम हुन्छ ।’ यसरी आफ्नो सीप, क्षमता विकास गर्न नपाउँदा भोलिका दिनमा बेरोजगार हुने जोखिम रहेको उनको बुझाई छ ।

रुची र रहरहरु छुट्दै गयो

सानो छँदा आफ्नो रुची र रहर अनुसार जे पनि गर्न मन लाग्छ । गाउन मन लाग्छ, नाटककार हुन मन लाग्छ । मिक्कीफुङ भन्छिन्, ‘मलाई सानोमा चित्रकार बन्छु भन्ने लाग्थ्यो । पछि विस्तारै कम्प्युटर सिक्नमा बढी ध्यान जान थाल्यो । किनभने यसैमा जागिर पाइन्छ भन्ने लाग्ने रहेछ । पैसा आम्दानी हुन्छ भन्ने लाग्न रहेछ ।’

आफ्ना रुची भन्दा पनि कुन क्षेत्रमा लाग्दा पैसा कमाई हुन्छ भन्ने सोचाईले पढाईमा केन्द्रित हुनुपरेको उनको बुझाई छ । ‘पहिलो नृत्यमा ध्यान हुन्थ्यो तर यसमा भविष्य हुन्न भन्ने कुरा आउन थाल्छ’ उनी भन्छिन् ।

पाठ्यक्रममा मात्र सीमित हुँदा अरु कुरा छुट्छ

पाठ्यक्रममा मात्र सीमित हुँदा अरु पुस्तकहरु पढ्न फुर्सद हुन्न । यसले गर्दा आफुले जे जति ज्ञान आर्जन गर्नुपर्ने सो पुरा नभइरहेको हो कि भन्ने उनीहरुलाई लाग्छ । ‘राम्रो अंक ल्याउनका लागि पाठ्यक्रम रट्ने काम मात्र भइरहेको छ’ सिम्रिक भन्छिन्, ‘हामीलाई पनि इतिहासका किताब, फिक्सनका किताब पढ्न मन लाग्छ । किनभने यसले समाजको विकास र अस्तित्वबारे सिकाउँछ । तर यस्ता किताबहरु पढ्ने र पढाउने परिपाटी नै भएन ।’

हामीकहाँ विद्यालयको किताब पढ्नुपर्छ र कथा–उपन्यास पढ्नु राम्रो होइन भन्ने मनोविज्ञान छ । तर, बाहिरी किताबबाट जीवनोपयोगी धेरै कुुरा सिकिने सिम्रिकको बुझाई छ । उनी भन्छिन्, ‘पढेर एसइइमा चार जिपिएस ल्याएर पनि सामाजिक व्यवहार, मूल्य र मान्यता थाहा छैन भने पढेको के काम ?’

उनका अनुसार सामाजले पाठ्यक्रममा आधारित पक्षलाई मात्र हेरिरहेको छ र दबाव पनि त्यसमै छ । डाक्टर, इन्जिनियर बन्न भनिन्छ तर कला क्षेत्रमा लाग्नुपर्छ भनेर प्रोत्साहित गरिदैन । म कला क्षेत्रमा लाग्छु भन्यो भने अभिभावक, शिक्षकले स्याबासी दिदैनन् । ‘यसले गर्दा हामी आफ्नो लक्ष्य र इच्छाप्रति नै निरुत्साहित हुँदै जान्छौं ।’

खासमा पढाई भनेको जागिरका लागि होइन । तर, अहिलेको पढाईले जागिरमा मात्र प्रेरित गरिरहेको उनीहरुको अनुभव छ । उनीहरु भन्छन्, ‘खासमा त पढाईको अर्थ जीवनलाई बुझ्ने र नैतिकवान बन्ने हो जस्तो लाग्छ । पढ्नुको सार जीवनलाई सुन्दर बनाउनु हो भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?