+
+
माधव नेपालको राजनीतिक प्रतिवेदन :

एकीकृत समाजवादीलाई प्रचण्डकै आश

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते २१:२२

२१ माघ, काठमाडौं । आमचुनाव सकिएको झण्डै अढाई महिनापछि नेकपा एकीकृत समाजवादीको समीक्षा बैठक सुरु भएको छ । केन्द्रीय सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक राखेको एकीकृत समाजवादीले शनिबारदेखि केन्द्रीय कमिटीमा चुनावी समीक्षा सुरु गरेको हो ।

बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले २५ पृष्ठको राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । उक्त दस्तावेजमाथि छलफल गर्न १० समूह बनाइएको छ । शनिबार समूहगत छलफलबाट आएको सुझाव समेटेर पार्टी निर्णय हुने प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन् । ‘अल्फाबेटका आधारमा दश समूह बनाइएको छ । राजनीतिक दस्तावेजमाथि छलफल गरेर निर्णयमा पुग्छौं’, खतिवडा भन्छन् ।

अध्यक्ष नेपालको दस्तावेजमा मुख्य गरी चार विषय समेटिएका छन् । अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीति, चुनावी समीक्षा र पार्टी संगठनको अवस्थाबारे प्रतिवेदनमार्फत् छलफल खुला गरिएको छ । अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय परिस्थितिलाई चीन र रुसप्रति झुकाव राखेर व्याख्या गरेका छन् । त्यसै आधारमा, पार्टी दृष्टिकोण बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिवेदनको दोस्रो, तर महत्वपूर्ण विषय भने चुनावी समीक्षा छ । नेकपा एमालेबाट विद्रोह गरेर बनेको पार्टीले अपेक्षित मत नपाएको तथ्य स्वीकारिएको छ । ‘हाम्रो पार्टी पनि अपेक्षा गरिए भन्दा पछाडि परेको छ’ प्रतिवेदनमा लेखिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ साढे सात लाख मत ल्याउने आशा गरेको भएपनि झण्डै दुई तिहाइ कम आउँदा थ्रेस होल्ड कटाउन नसकिएको उल्लेख छ ।

प्रदेशसभातर्फ आएको मत समेत प्रतिनिधिसभामा नआएको तथ्य प्रतिवेदनमा समेटिएको छ । प्रदेशसभाको समानुपातिकतर्फ आएको ३ लाख ७७ हजार ६३ मत प्रतिनिधिसभामा पनि आउँदा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने थियो । तर प्रतिनिधिसभातर्फ २ लाख ९८ हजार ३९१ मत मात्रै आउनुमा १६ कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

ती कारणहरुमा पार्टी योजना कार्यान्वयन नहुनु, कार्यकर्ता परिचालित नहुनु, गठबन्धनबाट सहयोग नपाउनु, टिकट नपाउनेहरुबाट असन्तुष्टि बढ्नु, अवसरवादी प्रवृत्ति देखिनु, पैसा बिना नचल्ने प्रवृत्ति देखिनु, तालमेलका कारणले समानुपातिक मतमा असर देखिनु, प्रभावकारी प्रचार नहुनु लगायत छन् । विचार र सिद्धान्तमै प्रष्ट नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ नयाँ मतदाता देखिएकाले पनि एकीकृत समाजवादीले अपेक्षित मत पाउन नसकेको प्रतिवेदनमा छ ।

बढी असर भने नयाँलाई मत भनेर प्रचार गरिएको ‘नो, नट अगेन’ अभियानबाट पुगेको अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ । ‘पुराना पार्टी र नेताहरुलाई अब फेरि मत दिनु हुँदैन (नो, नट अगेन) भनेर ब्यापक रुपमा नकारात्मक प्रचार गरिएको थियो । हाम्रो पार्टीका मुख्य नेताहरुको नामै किटेर र फोेटा समेत देखाएर त्यस्तो प्रचार गरिएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

एकीकृत समाजवादीलाई पनि पुरानै पार्टी भनेर प्रचार गर्दा नयाँ थपिएका २५ लाख ६० हजार मतदाता प्रभावित बनेको विश्लेषण छ । ‘विदेशमा रहेका युवाहरुले समेत घरमा फोन गरेर रास्वपाको घण्टीमा मत दिन लगाए । उनीहरुले हामीलाई विश्वास गरेनन्’ अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् ।

प्रत्यक्षतर्फ पनि सन्तोषजनक नतिजा नआएको अध्यक्ष नेपालले निष्कर्ष प्रस्तुत गरेका छन् । गठबन्धन गर्दा प्रतिनिधिसभामा २० र प्रदेशसभामा ४१ सिट पाएको एकीकृत समाजवादीले प्रतिनिधिसभामा १० र प्रदेशसभामा १६ सिट जितेको छ ।

समानुपातिकसहित गरेर एकीकृत समाजवादीको प्रदेशसभामा २४ सिट छ ।

तर एकीकृत समाजवादीकै मतका कारण एमालेले २० क्षेत्रमा पराजित हुनु परेको, कांग्रेस र माओवादी केन्द्रले थप चार÷चार सिट जितेको निष्कर्ष उल्लेख छ । यो चुनावी समीक्षाका रुपमा अध्यक्षमा पार्टी संगठनको चुस्तता, वैचारिक प्रष्टता र वाम मोर्चा÷एकतालाई जोड दिइएको छ । ‘पुराना दलहरु रुपान्तरित नहुने हो र परम्परागत ढंगले नै चल्ने हो भने उनीहरुप्रति विकर्षण अझै बढ्दै जाने देखिन्छ । यो पनि यस निर्वाचनबाट प्राप्त भएको एउटा शिक्षा हो’, प्रतिवेदनमा उल्लेख छ ।

एमाले दक्षिणपन्थी, माओवादी ढुलमुले

राष्ट्रिय राजनीतिक परिस्थितिबारे एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण बनेर अस्थिरतालाई निमन्त्रण दिइएको निष्कर्ष निकालेको छ । ‘यो गठबन्धन प्रगतिशील चरित्रको छैन । यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन । त्यसैले यो विचारहीन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी गठबन्धन भन्नु उपयुक्त हुन्छ’ नेपालले लेखेका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरणबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुलाई एमालेको जितका रुपमा अथ्र्याइएको छ । ‘आजको अवस्था हिजो दुईदुई पटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट शुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम हो’, प्रतिवेदनमा भनिएको छ, ‘तिनै केपी ओली वर्तमाान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक संयन्त्रको प्रमुख बनेका छन् । उनले आफ्नो दृष्टिकोण र उद्देश्य अनुरुप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्फ लाने प्रयत्न गर्दैछन् ।’

कांग्रेसले पूर्वसहमति अनुसार प्रचण्डलाई पहिलो प्रधानमन्त्री नस्वीकार्दा यस्तो परिस्थिति बनेको कारण दिइएको छ । तर विगतमा गठबन्धन गरेकै कारणले प्रचण्डलाई १५ बुँदे सुझावसहित विश्वासको मत दिनुपरेको प्रष्टोक्ति अध्यक्ष नेपालले दिएका छन् । कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिनुको कारण भने सरकारमा सहभागी हुनु नभएर सहमतिको आशा भएको तथ्य प्रतिवेदनमा लुकाइएको छैन ।

‘हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौं, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले उक्त सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौं’, प्रतिवेदनमा लेखिएको छ । कांग्रेसको सोंच पनि सरकारमा सहभागी हुने नभएर सहमतिको प्रयत्न भएको अध्यक्ष नेपालले तर्क गरेका छन् ।

पार्टीगत दृष्टिकोणमा भने एकीकृत समाजवादीले माओवादीलाई ढुलमुले र कांग्रेसलाई पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भनेको छ । तर कांग्रेस संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध शक्ति भएको निष्कर्ष निकालेको एकीकृत समाजवादीले एमालेलाई चाहिँ दक्षिणपन्थी अवसरवादी शक्ति भनेको छ । ‘प्रतिनिधिसभाको दोस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन’, प्रतिवेदनमा उल्लेख छ ।

एमालेप्रति पूरापुर नकारात्मक रहेको एकीकृत समाजवादीले भने माओवादी र प्रचण्डप्रति भने अझैपनि आशा गरेको प्रतिवेदनबाट प्रष्ट हुन्छ । उसले राष्ट्रिय राजनीति, पार्टीगत सहकार्य र एकतामा समेत माओवादीसँगै लचक रहेको सन्देश दिएको छ । पार्टी एकता गर्न राखेको शर्त र अडान अनि प्रचण्डलाई विश्वासको मत दिनुपर्ने तर्कमार्फत् त्यस्तो सन्देश रहेको प्रष्ट हुन्छ ।

‘…माओवादी केन्द्र विगतको गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौं’ अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा लेखेका छन्, ‘…मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको छ ।’

प्रतिवेदनको अन्तिम खण्डमा भने संगठनात्मक अवस्था उल्लेख छ । विभिन्न कमिटीमा गरी एक लाख ६६ हजार ४२६ जना नेता रहेको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसकेको पृष्ठभूमिलाई आधार मानेर नयाँ कार्ययोजना बनाउनुपर्ने प्रस्ताव ल्याइएको छ ।

‘आगामी वर्ष फागुनभित्र राष्ट्रिय महाधिवेशन गर्नेगरी संगठनात्मक प्रस्ताव ल्याइएको छ । त्यसअनुसार, आगामी जेठभित्र सबै संगठन र जनसंगठनको महाधिवेशन गर्छौ’, प्रवक्ता खतिवडा भन्छन् । ठूलो र भद्दा कमिटीहरु भएपनि गत चुनावमा पार्टीले एक्लै चुनाव लड्ने परिस्थिति नहुनुलाई एकीकृत समाजवादीले चिन्ताको रुपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?