+
+

अष्ट्रेलिया टुरमा रहेको नेपथ्यले गर्‍यो राजधानी क्यानबेरामा पहिलो कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते ११:४३

काठमाडौं । अष्ट्रेलियाका विभिन्न सहरमा पटकपटक सांगीतिक प्रस्तुति दिइसकेको लोकरक ब्याण्ड नेपथ्यले राजधानी क्यानबेरामा पहिलोपटक कन्सर्ट गरेको छ । शुक्रबार त्यहाँको म्यनिङ क्लार्क हलमा खचाखच दर्शकमाझ नेपथ्यले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्‍यो ।

आफूलाई स्थापित गराएको पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट प्रस्तुति थालेका नेपथ्यले त्यसपछि छेक्यो छेक्यो, भेंडाको ऊनजस्तो, लामपाते सुरती, चरी मर्‍यो, जोमसोमै बजारमा, शिरफूल शिरैमा लगायत गीत प्रस्तुत गर्‍यो ।

कार्यक्रममा पूर्व अष्ट्रेलियाली कुटनीतिज्ञ लिण्डा ट्रिग पनि पुगेकी थिइन् । छोरालाई लिएर कन्सर्ट हेर्न पुगेकी उनले प्रतिक्रिया दिंदै भनिन्, ‘व्यावसायिकताले निखारिएको त छँदैछ, नेपथ्यको प्रस्तुति असाध्यै ऊर्जाशील पनि लाग्यो । सबै दर्शक रमाए । हामी आमाछोरा पनि खुब रमायौं ।’

‘रातो र चन्द्र सूर्य’ सुनाएर बिट मारिएको कन्सर्टमा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले नेपाली दर्शककको साथ पाइरहँदा एकमनले खुसी र अर्को मनले दुःखी पनि महसुस भइरहेको उल्लेख गरे । ‘तपाईंहरु यहाँ आएर उज्ज्वल भविष्यको लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुसी छु । तर यत्तिका ऊर्जावान् तन्नेरीहरुलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कताकता नरमाइलो पनि भइरहेको छ,’ उनले भने ।

स्टेजमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थावा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलनमा शान्ति रायमाझीले सघाएका थिए ।

अष्ट्रेलिया यात्रामा रहेको नेपथ्यले आइतबार पर्थमा प्रस्तुति दिनेछ भने फेब्रुअरी १० मा सिड्नी, फेब्रुअरी १३ मा मेलबर्न र फेब्रुअरी १७ मा होबार्टमा कन्सर्ट गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?