६ असोज, क्यानबेरा । अष्ट्रेलियाको राजधानी क्यानबेराको किङ्स्टनमा नेपालीद्वारा सञ्चालित बिटरस्विट क्याफेले नेपालका बाढीपीडितको सहयोगार्थ सुरु गरेको मानवीय अभियानले स्थानीय सञ्चारमाध्यमको ध्यान खिचेको छ।
क्याफेले कफी बिक्रीबाट प्राप्त हुने शतप्रतिशत रकम नेपालका बाढीपीडितको राहतका लागि सहयोग गर्ने घोषणा गरेको छ।
यस अभियानले अष्ट्रेलियाका सञ्चारमाध्यम च्यानल नाइन र क्यानबेरा टाइम्स लगायतको ध्यान आकर्षित गरेको छ। विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिँदै क्याफेले समुदायमा सकारात्मक प्रेरणा फैलाएको छ।
क्याफेका सञ्चालक नवीन केसीले अनलाइनखबरसँग कुरा गर्दै नेपालमा जारी विपत्तिप्रति दुःख व्यक्त गरे।
उनले भने, ‘नेपाल पीडामा छ। मातृभूमिलाई अहिले हाम्रो सहयोगको आवश्यकता छ। सहयोग गर्ने यो नै सही समय हो।’
केसीका अनुसार अभियान सुरु भएको पहिलो दुई दिनमै करिब ६ हजार अष्ट्रेलियन डलर संकलन भएको छ। अभियानअन्तर्गत यस साताको बाँकी अवधिमा संकलन भएको रकमको हिसाब भने गर्न बाँकी रहेको उनले बताए।
अभियानबाट संकलित सम्पूर्ण रकम नेपाल रेडक्रस सोसाइटीमार्फत नेपालका बाढीपीडितलाई सहयोग गर्न उपलब्ध गराइने उनले जानकारी दिए।
उनका अनुसार अभियानका क्रममा केही ग्राहकले एकै कारोबारमा ३ हजार अष्ट्रेलियन डलर नेपालका प्रधानमन्त्री राहत कोषमा समेत योगदान दिएका छन्। यसले विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न ग्राहक तथा स्थानीय समुदायबाट प्राप्त भइरहेको साथलाई देखाउँछ।
यसैबीच, अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) का मुख्यमन्त्री एन्ड्रयू बारले पनि मंगलबार क्याफेको भ्रमण गरेका छन्। उनले नेपालका बाढीपीडितको सहयोगका लागि क्याफे सञ्चालकले थालेको पहलको प्रशंसा गरेका छन्।
बिटरस्विट क्याफेको यो अभियानले व्यवसायलाई मानवीय सेवासँग जोड्दै विदेशमा रहेका नेपाली समुदायले मातृभूमिमा आइपरेको संकटमा कसरी योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ।
कफीको प्रत्येक कपमार्फत राहत जुटाउने यो प्रयासले नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता र सहयोगको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4